नेपाली नेताहरूलाई होली वाइन पिलाउने संस्थाकी प्रमुख भ्रष्टाचार आरोपमा पक्राउ

3.8k
Shares

एजेन्सी । कुनै समयमा नेपालका शीर्ष नेताहरूलाई होली वाइन पिलाएर विवाद जन्माएको दक्षिण कोरियाको युनिफिकेशन चर्चकी प्रमुख हान हाक–जा पक्राउ परेकी छन् ।

उनले पूर्व राष्ट्रपति यून सुक योलकी पत्नी किम क्योन–हीलाई नगद र बहुमूल्य वस्तुको घूस दिएको आरोप छ । पिपुल पावर पार्टीका सांसद क्योन स्योङ–दोङलाई पनि उनले घूस खुवाएकी थिइन् ।

हानलाई हिरासतमा लिइएपछि विशेष अभियोजनकर्ता मिन जुङ–कीले युनिफिकेशन चर्चमाथि गरिरहेको अनुसन्धानले गति पाउने अपेक्षा छ ।

सौलको जिल्ला अदालतका न्यायाधीश ज्योङ जे–वूकले हानलाई पक्राउ गर्ने आदेश दिएका थिए । हानले प्रमाण नष्ट गर्न सक्ने भएकाले पक्राउ आदेश दिइएको हो ।

युनिफिकेशन चर्चका संस्थापक मून सुन–म्युङकी पत्नी हानले चर्चका पूर्व निर्देशक युन योङ–होसँग मिलेर क्योनलाई सन् २०२२ मा १० करोड वोन घूस दिएको आरोप छ । चर्चलाई सरकारले सहयोग गरोस् भनी हानले घूस खुवाएकी थिइन् ।

हानले पूर्व पूथम महिला किमलाई महँगा नेकलेस र शनेलका ब्यागहरू पनि उपहारमा दिएकी थिइन् ।

त्यसबाहेक चर्चका फन्डहरूमा घोटाला गरेको र विदेशमा जुवा खेलेको आरोपका प्रमाण मेटाउनका लागि निर्देशन दिएको आरोप पनि हानमाथि लागेको छ ।

थुनछेक बहसमा हानले राजनीतिसँग आफ्नो कुनै साइनो नभएको बताइन् । संसारभरिका नेतालाई स्वर्गको सम्मान गर्न भन्ने गरेको तर राजनीतिमा चासो नदेखाएको उनको भनाइ थियो ।

हान पक्राउ परेपछि अघिल्लो सरकारको पालामा सरकार र युनिफिकेशन चर्चको साँठगाँठका अनेकौं घटनाहरू उजागर हुँदै जाने अपेक्षा गरिएको छ ।

नेपालमा विवादास्पद पूर्वसांसद एकनाथ ढकालले युनिफिकेशन चर्चको गतिविधि सञ्चालन गर्दै आएका छन् । उनकै संयोजनमा नेपालका शीर्ष नेताहरू चर्चको कार्यक्रममा सहभागी भएर होली वाइन पिएका थिए ।