
एजेन्सी । उत्तरी युरोपमा रहेका मुलुक नर्वे र डेनमार्कका प्रमुख विमानस्थलहरूमा ड्रोन देखिएपछि केही समयका लागि उडान रद्द भएका छन् ।
सोमवार अबेर रात कोपनहेगन र ओस्लोका व्यस्त विमानस्थलहरूमा ड्रोन उडेपछि उडान रद्द हुँदा हजारौं यात्रुहरू अलपत्र परेका थिए । कैयौं उडानहरूलाई डाइभर्ट गर्नुपरेको थियो ।
‘कुनै सक्षम सञ्चालकले ड्रोन उडाएको हाम्रो निष्कर्ष छ,’ डेनमार्क प्रहरीका प्रमुख जेन्स जेस्परसनले पत्रकारहरूलई बताए, ‘उक्त व्यक्तिले आफ्नो क्षमता, इच्छाशक्ति र साधनहरू देखाउन खोजेको हो ।’
डेनमार्क र नर्वेमा भएका घटना एकआपसमा जोडिएका हुन् कि हैनन् भन्न नसकिने उनले बताए ।
उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कोपनहेगनको एयरस्पेसमा रुसले ड्रोन पठाएको भनी आधारहीन दाबी गरे । तर, डेनमार्क प्रहरीले त्यसमा टिप्पणी गर्न मानेन ।
तीनवटा विशाल ड्रोनहरू कोपनहेगन विमानस्थलतर्फ आएपछि चार घन्टासम्म विमानस्थल बन्द गरिएको थियो । ओस्लोमा चाहिँ दुईवटा ड्रोन देखिएपछि तीन घन्टासम्म विमानस्थल बन्द गरिएको हो ।
डेनमार्कमा विभिन्न दिशाबाट ड्रोनहरू आएका थिए । ती ड्रोनको बत्ती बल्ने निभ्ने भएका थिए । कैयौं घन्टापछि ती ड्रोनहरू हराए ।
ती ड्रोनहरू जहाजबाट प्रक्षेपण गरिएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।
डेनमार्कको प्रमुख विमानस्थल व्यस्त जहाज आवागमन क्षेत्र नजिक छ । त्यहाँबाट जहाजहरू बाल्टिक समुद्रमा पस्ने र निस्कने गर्छन् ।
हालैका दिनमा युरोपेली विमानस्थलमा बाधाअवरोधहरू आइरहेका छन् ।
गत शुक्रवार साइबर आक्रमण भएपछि लन्डनको हिथ्रोका साथै बर्लिन र ब्रसेल्स विमानस्थल केही समयका लागि ठप्प भएका थिए । त्यसको असर सोमवारसम्म पनि परेको थियो ।








प्रतिक्रिया