
एजेन्सी । पेरुमा राष्ट्रपति डिना बोलुआर्तेको राजीनामा माग्दै आइतवार जेजनी युवाले प्रदर्शन गरेका छन् ।
सन् २०२० पछि उक्त देशमा भएको यो तेस्रो ठूलो विरोध प्रदर्शन हो ।
जेनरेशन जेड भनिने युवाहरूको समूहले विरोध कार्यक्रमको आयोजना गरेको हो । देशमा व्याप्त भ्रष्टाचार, संगठित अपराध र पेन्सन सुधारका विषयमा विरोध भएको हो ।
राजधानी लिमामा ५०० भन्दा बढी मानिस भेला भएका थिए । प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।
प्रदर्शनकारीहरू राष्ट्रपति र संसद् भवनतिर अघि बढेपछि प्रहरीसँग भिडन्त भएको थियो । प्रहरीले बल प्रयोग गर्दा पत्रकारहरूलाई छर्रा लागेको थियो । तीनजना प्रहरी अधिकृत घाइते भएका छन् ।
प्रदर्शनमा कम्तीमा १८ जना घाइते भएको सरकारी अधिकारी र स्वतन्त्र संस्थाहरूले जनाएका छन् ।
राष्ट्रपति बोलुआर्तेको कार्यकाल अर्को वर्ष सकिँदैछ । तर, देशमा बढ्दो फिरौतीको घटना र संगठित अपराधका कारण उनको समर्थन सूचकांक लगातार घटिरहेको छ ।
विभिन्न सर्वेक्षणहरूमा सरकार र सांसदहरू भ्रष्ट रहेको भनी मानिसले प्रतिक्रिया दिएका छन् ।
गत साता संसद्ले वयस्क व्यक्तिहरूलाई निजी पेन्सन फन्डमा जोडिन अनिवार्य गरेपछि आक्रोश बढेको हो । धेरै मानिसले सुनिश्चित रोजगारी नपाइरहेको अवस्थामा पेन्सन फन्डमा जोडिन बाध्य बनाइनु हितकारी नभएको भनी आवाज उठिरहेको छ ।








प्रतिक्रिया