
एजेन्सी । फिलिपिन्समा भ्रष्टाचारको विरोध गर्दै १८ हजार मानिसले आइतवार प्रदर्शन गरेका छन् ।
कालो लुगा र मुख छोप्न मास्क लगाएका मानिसले ब्यारिकेडका रूपमा राखिएको ट्रकको टायरमा आगो लगाएका छन् ।
उनीहरूले राष्ट्रपति भवन जाने सडक र पुलको सुरक्षा गरिरहेका दंगा प्रहरीमाथि ढुंगामुढा पनि गरेका छन् । त्यसमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तर, समग्रमा विरोध प्रदर्शन शान्तिपूर्ण रह्यो । राजधानी मनिलाका दुई ठाउँमा हजारौं मानिसले प्रदर्शन गरेका हुन् ।
राष्ट्रपति भवन रहेको ठाउँ मालाकानाङमा सुरक्षाकर्मीहरूले घेराबन्दी गरेका छन् ।
बाढी नियन्त्रण गर्ने परियोजनामा भ्रष्टाचार भएको भनी विरोध प्रदर्शन चर्किएको हो । ती परियोजनामा अर्बौं डलर खर्च भएको छ ।
मनिलामा भेला भएका प्रदर्शनकारीहरूले देशको झण्डा फर्फराएका थिए र ‘अब पुग्यो, धेरै भइसक्यो, तिनीहरूलाई जेलमा कोच’ लेखिएको ब्यानर बोकेका थिए । भ्रष्टाचारमा संलग्न सबैलाई अभियोजन गर्न उनीहरूले माग गरेका छन् ।
‘हामी गरिबीमा बस्न र घर गुमाउन बाध्य हुँदा उनीहरू करदाताको पैसाले विलासी कार किन्ने, विदेश भ्रमण गर्ने र कर्पोरेट व्यापार गर्ने काम गरिरहेका छन्,’ विद्यार्थी अभियन्ता आल्थिया ट्रिनिडाडले एपी समाचार संस्थालाई बताइन्, ‘हामी जनतालाई शोषण नगर्ने प्रणाली चाहन्छौं ।’
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रका नाममा गत जुलाई महिनामा गरेको सम्बोधनमा हुँदै नभएको पूर्वाधार परियोजना खडा गरेर भ्रष्टाचार भएको कुरा उजागर गरेपछि जनतामा आक्रोश छ ।
मार्कोसले पछि एक स्वतन्त्र आयोग गठन गरी ९ हजार ८ सय ५५ वटा बाढी नियन्त्रण परियोजनामा भएको घोटालाको छानबिन गर्न लगाएका थिए । ती परियोजनामा साढे ९ अर्ब डलर बराबरको लगानी भएको छ ।
विभिन्न निर्माण कम्पनी सञ्चालन गर्ने साराह र पासिफिको डिसकाया नामक धनाढ्य जोडीले बाढी नियन्त्रण परियोजनाको सम्झौता हात पारेका थिए । उनीहरूले युरोपेली र अमेरिकी विलासी गाडीहरू देखाएपछि जनतामा आक्रोश फैलिएको छ ।








प्रतिक्रिया