भारतका जेनजीले संविधान जोगाउने राहुल गान्धीको भनाइ, देश छोडेर भाग्नुपर्ने भनी भाजपाको व्यंग्य

1k
Shares

एजेन्सी । भारतको कांग्रेस पार्टीका नेता राहुल गान्धीले देशको संविधान जोगाउन, लोकतन्त्रको रक्षा गर्न र भोट चोरी रोक्न जेनजीले योगदान गर्ने बताएका छन् ।

नेपालमा जेनजीले आन्दोलन गरेर केपी ओलीको सरकार ढलाएको विषयलाई उनले सन्दर्भ बनाएर यो टिप्पणी गरेका हुन् ।

उनको यो भनाइ आएपछि सत्तारूढ भारतीय जनता पार्टीले व्यंग्य गर्दै नेपालको जस्तो स्थिति आएमा राहुल गान्धीले देश छोडेर भाग्न तयार हुनुपर्ने जनाएको छ ।

बिहीवार प्रेस सम्मेलनलाई सम्बोधन गर्दै राहुलले मतदाताहरूको नाम नै सूचीबाट गायब बनाइएको आरोप लगाए । चुनाव आयोगका प्रमुख आयुक्त ज्ञानेश कुमारले सबै मतदाताको नाम दुरुस्त रहेको प्रमाण छ भनेपछि राहुलले त्यसमा आपत्ति जनाएका छन् ।

पत्रकार सम्मेलनपछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै राहुलले भोट चोरीका विषयमा अनेकौं टिप्पणी गरेका छन् । त्यसक्रममा उनले जेनजीको पनि प्रसंग निकाले ।

‘देशको युवा, विद्यार्थी र जेनजीले संविधानको रक्षा गर्नेछन्, लोकतन्त्र संरक्षण गर्नेछन् र भोट चोरी रोक्नेछन् । म सधैं उनीहरूसँग उभिनेछु । जय हिन्द !’ राहुल गान्धीले लेखे ।

भाजपाका निशिकान्त दुवेले राहुलको पोस्टमा जवाफ फर्काउँदै जेनजी पारिवारिक राजनीतिको विपक्षमा रहेको बताए । उनले राहुलका बुवा, हजुरआमा र जिजुबुवालाई सन्दर्भ बनाएका हुन् ।

उनले लेखे, ‘नेहरुजी, इन्दिराजी, राजीवजी र सोनियाजीपछि राहुलजीलाई उनीहरू कसरी सहन्छन् ? उनीहरू भ्रष्टाचारको विरुद्ध छन्, तपाईंलाई लखेट्दैनन् ? उनीहरू बंगलादेशलाई इस्लामिक मुलुक र नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छन्, भारतलाई हिन्दू राष्ट्र किन बनाउँदैनन् ? देश छोडेर भाग्न तयार हुनुस्, उनीहरू आउँदैछन् ।’

शुक्रवार एएनआई समाचार संस्थासँग कुराकानी गर्दै दुवेले जेनजी भन्नाले अर्को पुस्ता बुझिने र अर्को पुस्ताका युवाले आफ्नो राष्ट्रको भविष्य तथा सरकार परिवर्तनका विषयमा आफैं निर्णय गर्ने बताए ।

जेनजीले भारतमा पनि परिवर्तन गराइसकेको उनको भनाइ छ । अन्ना हजारे र अरविन्द केजरीवालको आन्दोलन त्यसैको संकेत भएको उनले बताए ।