
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानको बागराम एयरबेसमा अमेरिकी सेनालाई पुनः राख्नका लागि प्रयास गरिरहेको बताएका छन् ।
चार वर्षअघि अव्यवस्थित रूपमा उक्त देशबाट बाहिरिएर अमेरिकाले तालिबानलाई शासन चलाउन छोडिदिएको थियो ।
बेलायतका प्रधानमन्त्री केर स्टार्मरसँगको संयुक्त प्रेस वार्तामा ट्रम्पले यो विषय उठाएका हुन् ।
उनले प्रतिस्पर्धी चीनको सामना गर्नका लागि अफगानिस्तानमा अमेरिकाको उपस्थिति जरुरी रहेको बताएका छन् ।
ह्वाइट हाउस र पेन्टागनले बागराम एयरबेसमा फर्किनका लागि कुनै योजना बनाएको छ कि भनी सोध्दा जवाफ आएको छैन ।
अफगानिस्तान युद्ध अमेरिकाको सबभन्दा लामो लडाइँ हो ।
ट्रम्पका पूर्ववर्ती राष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिका अफगानिस्तानबाट बाहिरिएको हो । अमेरिकालाई त्यहाँबाट बाहिरिनका लागि आधारभूमि ट्रम्पले नै तयार पारेका थिए ।
२० वर्षसम्म चलेको युद्ध अन्त्य हुँदै गर्दा अमेरिकी सेना भेला भएको काुल विमानस्थलमा आतंकवादी बम विस्फोट भएको थियो । त्यसमा १३ अमेरिकी सैनिकहरूको मृत्यु भएको थियो भने अन्य १७० जना पनि मारिएका थिए ।
राष्ट्रपति बनेको जम्मा आठ महिनामा बाइडन अफगानिस्तानमा यस्तो असफलता बेहोर्नुपरेपछि लगातार कमजोर हुँदै गएका थिए ।
बाइडनले गर्दा नै अमेरिकाले बागराम एयरबेस त्याग्न परेको ट्रम्पले पत्रकारहरूलाई बताए ।
‘यो संसारका केही शक्तिशाली बेसमा पर्छ किनकि यसको धावनमार्ग बलियो छ र लम्बाइ पनि उम्दा छ,’ उनले बताए, ‘तपाईं त्यहाँ जे पनि अवतरण गराउन सक्नुहुन्छ । त्यहाँ तपाईं ग्रह नै अवतरण गर्न सक्नुहुन्छ ।’
त्यो ठाउँ चीनबाट नजिकै भएकाले ट्रम्पले त्यहाँ आँखा लगाएका हुन् ।
‘चीनले आणविक हतियार बनाइरहेको ठाउँबाट बागराम एयरबेस जम्मा एक घन्टाको दूरीमा छ,’ ट्रम्पले भने, ‘त्यसैले धेरै कुराहरू भइरहेका छन् ।’
तर, तालिबानको विदेश मन्त्रालयका अधिकारी जाकिर जलालीले अमेरिका बागराममा फर्किने सम्भावना नरहेको बताएका छन् ।
अमेरिकाले तालिबानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन तर उनीहरूले बन्दीका विषयमा कुराकानी गरेका छन् । दुई वर्षअघि अफगानिस्तानमा पर्यटकका रूपमा घुमिरहेका एक अमेरिकीलाई अपहरण गरिएको थियो र तालिबानले गत मार्च महिनामा उनलाई मुक्त गरेको थियो ।
गत साता मात्र तालिबानले अमेरिकी प्रतिनिधिहरूसँग बन्दी साटासाट गर्ने विषयमा सहमति गरेका थिए । अमेरिका र अफगानिस्तानबीचको सम्बन्ध सामान्य बनाउने प्रयासका रूपमा यसलाई लिइएको छ ।








प्रतिक्रिया