अमेरिकी जंगलराजको सामना गर्दै विश्वमा शान्ति ल्याउन योगदान गर्ने चीनका रक्षामन्त्रीको दाबी

217
Shares

एजेन्सी । चीनका रक्षामन्त्री तोङ जुनले जंगलराजले परिभाषित गरेको विभाजित विश्वलाई व्यवस्थित गर्नका लागि बेइजिङले सुशासन पहल ल्याएको बताएका छन् ।

चीनको बलियो सेनाले शान्तिका लागि काम गर्ने उनको भनाइ छ ।

अमेरिका र उसका साझेदारहरूले ताइवान र दक्षिण चीन सागर लगायत पूर्वी एसियाका विभिन्न क्षेत्रमा चीनलाई तनाव दिइरहेका छन् । त्यसमाथि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँग व्यापारयुद्ध समेत चलाइरहेका छन् ।

सुरक्षा सम्बन्धी छलफल गर्ने बेइजिङ स्याङशान फोरममा बोल्दै तोङले शीतयुद्धपरक सोच, प्रभुत्व र संरक्षणवादले संसारलाई छायाँमा पारेको बताए । अहिले भिडन्त भन्दा पनि संवादलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

‘अर्को देशमा सैन्य हस्तक्षेप, प्रभावक्षेत्र बनाउने प्रयास र अर्कालाई कुनै एक पक्ष छान्नका लागि दिइएको दबाबले अन्तर्राष्ट्रिय समुदायमा अव्यवस्था ल्याउँछ,’ तोङले थपे ।

उनले अमेरिकामाथि सांकेतिक प्रहार गरे । उनको टिप्पणी पोहोर सालको भन्दा बढी कठोर सुनिन्थ्यो । ताइवानका विषयमा पनि उनले सुदृढ धारणा राखे ।

‘सैन्य शक्तिमा निरपेक्ष सर्वोच्चता कायम गर्ने जुनून र जसको लट्ठी उसको भैंसीको दृष्टिकोणले जंगलराज सहितको विभाजित विश्व बनाउनेछ र अव्यवस्था ल्याउनेछ,’ तोङले बताए ।

चीनको बलियो सेनाले शान्तिबहाली गर्ने उनको भनाइ छ ।

ताइवानमा पृथक्तावादी प्रयासहरूलाई चिनियाँ जनमुक्ति सेनाले कहिले पनि सफल हुन नदिने तोङले बताए ।

‘ताइवानलाई चीनमा फर्काउने काम दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको अन्तर्निहित भाग हो,’ उनले बताए । ताइवानमा विदेशी सैन्य हस्तक्षेप रोक्नका लागि हरसमय प्रयास गर्ने पनि उनको भनाइ छ ।