नवप्रवर्तन गर्ने शीर्ष १० मुलुकहरूमा पहिलोपटक पर्‍यो चीन

91
Shares

एजेन्सी । चीन पहिलोपटक नवप्रवर्तन गर्ने शीर्ष १० मुलुकहरूको सूचीमा परेको छ ।

संयुक्त राष्ट्रसंघले निकाल्ने वार्षिक सूचीमा चीनले जर्मनीलाई उछिनेर दशौं स्थान हासिल गरेको हो । चीनले अनुसन्धान र विकासमा व्यापक लगानी बढाएपछि यस सूचीको शीर्ष १० मा स्थान बनाएको हो ।

सूचीमा स्विटजरल्यान्ड पहिलो स्थानमा छ । सन् २०११ देखि नै ऊ त्यस स्थानमा कायम छ । त्यसपछि स्विडन र अमेरिका छन् ।

७८ वटा सूचकांका आधारमा १३९ वटा देशमा गरिएको ग्लोबल इनोभेशन सर्भेमा चीन १०औं स्थानमा छ ।

चीनले निजी क्षेत्रमा लगानी बढाएपछि अनुसन्धान र विकास (आरएन्डडी) मा सबभन्दा धेरै खर्च गर्ने मुलुक बन्न लागेको छ ।

तर, विश्वभरि नवप्रवर्तनमा लगानी घट्न थालेको उक्त सर्वेक्षणले देखाएको छ ।

पोहोर साल २.९ प्रतिशत आरएन्डडीको वृद्धि भएकोमा यो वर्ष त्यो घटेर २.३ प्रतिशत हुने देखिएको छ ।

चीनले सन् २०२४ मा गरिएका अन्तर्राष्ट्रिय पेटेन्ट निवेदनको करिब एक चौथाइ योगदान गरेको छ । ऊ नै सबभन्दा ठूलो योगदानकर्ता हो । अमेरिका, जापान र जर्मनी मिलेर कुल निवेदनको ४० प्रतिशत योगदान गरेका छन् । यी तीनै देशमा सामान्य गिरावट देखिएको छ ।

पेटेन्टको स्वामित्वलाई कुनै पनि देशको आर्थिक मजबुती र औद्योगिक ज्ञानको महत्त्वपूर्ण संकेतका रूपमा लिइन्छ ।

राष्ट्रसंघको शीर्ष १० को सूचीमा दक्षिण कोरिया, सिंगापुर, बेलायत, फिनल्यान्ड, नेदरल्यान्ड्स र डेनमार्क पनि रहेका छन् ।