असोजमा झनै घट्यो बैंकको ब्याजदर

1.2k
Shares


काठमाडौं । बैंकहरूले ब्याजदर झनै घटाएका छन् । वाणिज्य बैंकहरूले असोजका लागि प्रकाशन गरेको नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.११ प्रतिशत बिन्दुले कम भएको हो ।

२० वाणिज्य बैंकहरूमध्ये ९ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । यस्तै ३ बैंकले सामान्य बढाउँदा ८ वटाले मात्रै यथावत राखेका छन् । प्रकाशित ब्याजदरअनुसार स्ट्यान्डर्ड चार्टर्डले भदौका लागि ब्याजदर घटाएपनि असोजका लागि बढाएको छ । त्यस्तै लक्ष्मी सन्‌राइज र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ब्याज सामान्य बढाएको छ ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.१३ प्रतिशत रहेको ब्याजदर ०.०५ प्रतिशत बिन्दुले बढाएर असोजमा ५.१८ प्रतिशत पुर्याएको छ । ५ वर्षभन्दा माथिका मुद्दति निक्षेपमा मात्रै उक्त ब्याजदर पाइने बैंकले जनाएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौमा ५.२ प्रतिशत रहेको ब्याजदर ०.०५ प्रतिशत बिन्दुले बढाएर ५.२५ प्रतिशत पुयाएको हो । बैंकले २ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतिमा उक्त ब्याजदर दिने भएको हो ।

छोटो अवधिको मुद्दती निक्षेपमा सबैजसो बैंकहरूको ब्याजदर ४ प्रतिशतभन्दा तल रहेको देखिन्छ । २ वर्षभन्दा बढी अवधिको निक्षेपमा भने बैंकहरूले न्यूनतम ५ देखि अधिकतम ४.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

सबैभन्दा धेरै आधारदर भएको एनआईसी एशिया बैंक सहित ४ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत ६ प्रतिशत ब्याजदर दिने भएका छन् । एनआईसी एशिया बैंक र एनएमबि बैंकले ५ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् ।

ग्लोबल आईएमई, माछापुच्छ्रे र एनएमबि बैंकले पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याजदर दिने भएका हुन्। ग्लोबल आईएमई बैंक र माछापुच्छ्रेले ३ वर्ष वा सोभन्दा बढी अवधिको लागि उक्त ब्याजदर दिनेछ । एनआईसी एशियाले भदौमा ६.२५ प्रतिशत रहेको अधिकतम ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको हो ।

यस्तै, प्राइमले २ वर्षमाथिको मुद्दती निक्षेपमा भदौमा ६ प्रतिशत ब्याजदर दिएकोमा असोजमा ०.५ प्रतिशत बिनदुले घटाएर ५.५ प्रतिशत मात्रै दिने भएको हो । हिमालयनले असोजमा ५ देखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर यथावत राखेकाे छ ।

नबिल, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले पनि असोजमा पनि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर असोजमा पनि भदौको ५.५ प्रतिशत ब्याजदरलाई यथावत राखेका छन् । यस्तै प्रभु बैंकले पनि असोजमा भदौको ५.३५ प्रतिशशत ब्याजदर यथावत राखेको हो ।

एभरेष्टले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले भदौमा ५.७५ प्रतिशत ब्याजदर दिएकोमा असोजका लागि ०.५ प्रतिशत बिन्दुले घटाएर ५ वर्षमाथिको मुद्दती निक्षेपमा ५.२५ प्रतिशत ब्याजदर दिने भएको हो ।

सानिमाले पनि साउनको ६.१८ प्रतिशतबाट ०.४३ प्रतिशत बिन्दुले घटाएर भदौमा ५.७५ प्रतिशत बनाएको थियो । असोजमा भझै घटाएर ५ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत मात्रै ब्याजदर दिने भएको छ ।

सिटिजन्सले पनि भदौमा २ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याज दिएकोमा असोजमा घटाएर ५.२५ प्रतिशत मात्रै दिने भएको छ ।

त्यस्तै नेपाल बैंकले पनि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१५ प्रतिशत बिन्दुले घटाएको हो । भदौमा ५.४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजमा ५.२५ प्रतिशत दिने भएको हो । ५ वर्षभन्दा बढी अवधि मुद्दति निक्षेपमा मात्रै उक्त ब्याज दिनेछ ।

नेपाल एसबिआई बैंकले भदौमा साउनमा ५.२५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भदौमा ०.०७ प्रतिशत बिन्दुले घटाएर ५.१८ प्रतिशत बनाएको छ । ३ वर्षभन्दा माथिको निक्षेपमा उक्त ब्याज पाइनेछ ।

यस्तै लक्ष्मी सन्‌राईज बैंकले पनि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । भदौमा ५.५ प्रतिशत रहेको अधिकत ब्याजदर असोजका लागि घटाएर ५.२५ प्रतिशत बनाएको छ । बैंकले ५ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा मात्रै उक्त ब्याजदर पाउनेछन् ।

कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.द्द प्रतिशत बिन्दुले घटाएर ५.०१ प्रतिशत बनाएको छ । २ वर्षभन्दा माथिको निक्षेपमा उक्त ब्याज पाइनेछ । कृषि विकास बैंकले पनि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । बैंकले भदौमा ५.२ प्रतिशत रहेको ब्याजदर असोजको लागि घटाएर ५.०५ प्रतिशत बनाएको हो । बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा उक्त ब्याजदर दिने भएको हो ।

राष्ट्र बैंकले गत असारमा ल्याएको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरका सबै दर घटाएसँगै बैंकहरूले साउनका लागि ब्याजदर घटाएका थिए । भदौमा पनि घटाएका बैंकले असोजमा पनि थप निक्षेपको ब्याजदर घटाउने भएका हुन्। आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले बैंकदरलाई ६.५ प्रतिशतबाट ६ मा, नीतिगत दरलाई ५ बाट ४.५ मा र निक्षेप संकलन दरलाई ३ बाट २.७५ प्रतिशतमा झारेको थियो ।

फ्लोर रेटको रुपमा रहेको निक्षेप संकलन दर घटाएसँगै बैंकहरूले बचतको न्यूनतम ब्याजदर पनि साउनबाट नै सोही अनुसार घटाएका छन् । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको राष्ट्र बैंकले त्यसभन्दा तल बचतको ब्याजदर घटाएमा उक्त सुविधा लिन पाउँदैनन् । सोही कारण निक्षेप संकलन दर ३ प्रतिशत हुँदा बचतको न्यूनतम ब्याजदर पनि ३ प्रतिशतभन्दा तल झरेको थियो । तर, केन्द्रीय बैंकले पोलिसी रेट नै घटाएर बैंकहरूलाई ब्याजदर थप घटाउने बाटो दिएको हो ।

बचतको ब्याजदरसँगै बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर पनि घटाएका छन् । २ वाणिज्य बैंकको आधारदर ५ प्रतिशतभन्दा तल झरिसकेको अवस्था छ । अझै थप ब्याजदर घट्दा कर्जा अझ सस्तो हुने देखिन्छ ।

२३ र २४ भदौमा भएको जेन जी मुभमेन्टमा ठुलो आर्थिक क्षति हुँदा तत्काल कर्जाको माग नबढ्ने भन्दै बैंकहरुले असोजका लागि निक्षेपको ब्याजदर थप घटाएका हुन् ।