सागर डिस्टिलरीको आईपीओ निष्कासन स्थगित

4.2k
Shares

काठमाडौं । सागर डिस्टिलरीले सर्वसाधारणका लागि जारी गर्ने भनेको आइपीओ स्थगित भएको छ । कम्पनीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भनिएको थियो ।

तर, हाल मुलुकमा देखिएको विषम परिस्थितलाई ध्यानमा राखेर कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको जानकारी दिएको थियो ।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गर्न लागेको थियो ।

कम्पनीले अर्को सूचना नआउँदासम्म आईपीओ निष्कासन स्थगित गरेको हो ।