क्षतिको विवरण संकलन गर्दै निजी क्षेत्र, जिल्लागत रूपमा तथ्यांकको खोजी सुरु

28
Shares

काठमाडौं । जेनजीको आन्दोलका कारण भदौ २४ मा देशैभर आगजनी, तोडफोड र हिंसाका गतिविधि भए । उक्त घटनापछि अवस्था सामान्य भएसँगै निजी क्षेत्रतर्फको क्षतिको विवरण संकलन सुरु भएको छ ।

निजी क्षेत्रमा आन्दोलनकारीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने काम निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आ-आफ्नै तरिकाले सुरु गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीका अनुसार महासंघले जिल्लागत रुपमै भएको क्षतिको विवरण संकलन गर्ने भएको छ । यसका लागि सम्बन्धित जिल्लाहरुमा फारामको नमूनासमेत पठाइसकिएको छ । सबै जिल्लाबाट विवरण आएपछि महासंघले एकीकृत गरेर क्षतिको विवरण सार्वजनिक गर्ने उनले बताए ।

निजी क्षेत्रको अर्को छाता संगठन नेपाल उद्योग परिसंघले पनि आफ्ना सदस्य उद्योगी व्यवसायीसँग क्षतिको विवरण मागेको छ । परिसंघलेसमेत जेनजी आन्दोलनबाट भएको क्षतिको विवरण संकलन गर्न मातहतका निकायलाई परिपत्र गरिसकेको छ ।

आन्दोलनका क्रममा भएको हिंसामा निजी क्षेत्रमा ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकासहित बाहिरी जिल्लामा मीनबहादुर गुरुङको भाटभटेनीमा सबैभन्दा ठूलो क्षति भएको छ । देभैभरका २८ वटा भाटभटेनीका स्टोरमध्ये १९ वटामा आगजनी र क्षति भएको छ ।

भाटभटेनी सुपरस्टोर आन्दोलनकारीको प्रमुख निसानामा परेको यसका सबैतिरको भवनमा भएको लुटपाट र आगजनीले देखाएको छ ।

निजी क्षेत्रबाट स्थापित उद्योग व्यवसायमा भएको आक्रमणबाट धेरैले रोजगारी समेत गुमाएका छन् ।

निजी क्षेत्रले नेपालमा भित्र्याएको अन्तर्राष्ट्रिय चेन होटल हिल्टले होटल क्षेत्रमा सबैभन्दा ठूलो क्षति व्यहोर्‍यो । यो होटलमा आन्दोलनकारीले तोडफोडपछि गरेको आगजनीका कारण पूरै क्षति भएको छ । आगजनी भएको ४ दिनसम्म होटलमा आगो लागिरहेको थियो ।

नेपालको पाँचतारे डिलक्स होटल हिल्टनमा भएको आगजनीसहितको क्षतिका कारण पर्यटन उद्योगमा समेत नकारात्मक सन्देश प्रभाव भएको छ । सञ्चालनमा आएको एक वर्ष मात्रै भएको यो होटलमा भएको आक्रमणले नेपालको पर्यटकीय छविमा असर गर्ने चिन्ता पर्यटन व्यवसायीले गरेका छन् ।

निजी क्षेत्रले सञ्चालन गरेको अरु होटलमा पनि जिल्लागत रुपमा तोडफोड भएका छन् । होटल संघ नेपालले देशैभरी २५ अर्ब रुपैयाँको क्षति भएको दाबी गरेपछि यसले जिल्लागत र होटलगत तथ्यांक भने दिन सकेको छैन ।

निजी क्षेत्रले सञ्चानलन गरेको अटो क्षेत्रमा पनि आक्रमण र आगजनी भएको छ । काठमाडौंको थापाथलीमा रहेका ४ वटा अटो शोरुममा आक्रमण भएको छ ।

चौधरी ग्रुपको अटो स्वरुम बाहेक घर र नैकापाको सिजी पार्क पनि आन्दोलनकारीको निसानामा परेको छ । सिजी पार्कमा भएको आक्रमणबाट पनि ठूलो क्षति भएको छ ।

सेन्टर्ल बिजनेश पार्क र टेलिकम सेवा प्रदायक एनसेलको भवनमा पनि आगजनी भएको छ भने हायत होटलमा पनि आक्रमण भएको छ ।

निजी क्षेत्र अन्तर्गत चन्द्र ढकालको चन्द्रागिरि केबलकारको वेस स्टेसन, मौलाकाली केबलकारसहितमा आक्रमण भएको छ । निजी क्षेत्रमा भएको आक्रमण, तोडफोड र आगजनीको उद्योगी व्यवसायीले घोर भत्सना गरेका छन् ।