
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शपछि शनिबारबाट नै जनजीवन सामान्य अवस्थामा फर्किएको छ । शनिबारदेखि नै सार्वजनिक यातायात चल्न थाले भने आइतबारबाट विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सेवा प्रवाह दिन थालिसकेका छन् । प्रदर्शनपछिको जनजीवन सामान्य अवस्थामा फर्किए पनि सेयर बजार भने खुल्न सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले भदौ २७ गते सूचना जारी गर्दै भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको थियो । जनजीवन सामान्य अवस्थामा फर्किएसँगै धेरैले बजार खुल्ने–नखुल्नेबारे चासो व्यक्त गरिरहेका छन् । अर्को निर्णय नहुँदासम्मका लागि असोज २ गतेसम्म बजार बन्द हुने भनिएकाले बीचमै निर्णय गरेर बजार खुलाउन सक्ने ठाउँ पनि छ ।
तर, हालसम्म बजार खुलाउने विषयमा कुनै निर्णय नभएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकारी मुराहरी पराजुली बताउँछन् । ‘अर्को निर्णय नहुँदासम्मका लागि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनिएको थियो । तर, धितोपत्र बोर्डबाट पहिल्यै खुलाउने सम्बन्धी केही निर्देशन आएमा वा अन्य कुनै निर्णय भएमा बजार त्यसअघि नै खुल्नसक्छ,’ पराजुलीले भने, ‘हालसम्म भने यससम्बन्धी कुनै निर्णय भएको छैन ।’
पराजुलीले अर्को निर्णय नभएसम्मका लागि भनेर बन्द गरिएकाले अब निर्णय गरेर जनसुकै बेला कारोबार खुला गर्न सकिने जानकारी दिए । खासगरी, भदौ २३ गतेबाट जेनजी प्रदर्शन सुरु भएको थियो भने सोही दिन धेरैले ज्यान गुमाएका थिए ।
त्यसपछि, नेप्सेले हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिने निर्णय नेप्सेले गरेका थियो । यसपछि, फेरि, स्थिति असामान्य बनेपछि असोज २ गतेसम्मका लागि बजार बन्द हुने सूचना नेप्सेले जारी गरेको थियो ।
अब भने, स्थिति सामान्य बनेकाले बजार खुलाउँदा उचित हुने साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी बताउँछन् । ‘जेनजी प्रदर्शनका क्रममा समाज असान्त भएपछि बजार बन्द गरिएको थियो तर, अहिले भने सबै कुरा सामान्य बन्दै गएका छन्,’ जिसी भन्छन्, ‘यसर्थ, अब बजार खुलाउँदा पनि हुन्छ ।’
उनले बजार खुलाउने विषयमा आइतबार नै नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग छलफल रहेको पनि जानकारी दिए । जेनजी प्रदर्शन बढेपछि पाँच लगानीकर्ताका संगठनहरुले भदौ २६ मा सूचना जारी गर्दै सेयर कारोबार स्थगन गर्नका लागि माग गर्न नेप्सेलाई सुझाव दिएका थिए ।

देशको वर्तमान राजनीतिक अस्थिरता, गम्भीर सुरक्षा चुनौती र प्रदर्शनमा घटेको दुःखद घटनाले आम लगानीकर्तालाई चिन्तित बनाएको भन्दै उनीहरुले कारोबार बन्द गर्न नेप्सेसँग आग्रह गरेका थिए ।
लगानीकर्ताले धितो पत्र बजार अत्यन्तै संवेदनशील हुने र राष्ट्रिय परिस्थितिको सानोभन्दा सानो सकारात्मक वा नकारात्मक प्रभावले समेत यसमा ठुलो उतारचढाव ल्याउने सुझावमा उल्लेख गरेका थिए । प्रदर्शनका समयमा बजारमा अनावश्यक बिक्री चाप सिर्जना भई पुँजी बजार नै धराशायी हुन सक्ने जोखिम बढेको भन्दै लगानीकर्ताले यस्तो आग्रह गरेका थिए ।
जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले संयुक्त सूचना जारी गर्दै बजार बन्द गर्नका लागि नेप्सेसँग आग्रह गरेका थिए ।
यसपछि, भदौ २७ गते अन्य तीन संगठनहरुले पनि सूचना जारी गर्दै अस्थाई रुपमा सेयर बजार नखोल्नका लागि आग्रह गरेका थिए । सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै कारोबार अस्थाई रुपमा नखोल्नका लागि माग गरेका थिए ।










प्रतिक्रिया