प्रधानमन्त्री जन्माउने विराटनगर: पायो छैटौं प्रधानमन्त्री


विराटनगर । विराटनगरको पहिचान अब औद्योगिक नगरीमा मात्र सीमित रहेन । जेनजी युवाहरुले गरेको शक्तिशाली आन्दोलन र प्रदर्शनपछि बनेको नयाँ सरकारको नेतृत्व पनि विराटनगरले पाएको छ । शुक्रबार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेसँगै विराटनगरको पहिचान प्रधानमन्त्री जन्माउने सहरमा दह्रिएको छ ।

विराटनगरले पहिलो जननिर्वाचित प्रधानमन्त्री, पहिलो कम्युनिष्ट प्रधानमन्त्री र पहिलो महिला प्रधानमन्त्री बनाएको छ । पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी मात्र नभएर पहिलो महिला प्रधानमन्त्रीमा पनि विराटनगरले इतिहास रचेको छ । सुशीलाले यसअघि पहिलो महिला प्रधानन्यायधीशको इतिहास पनि रचिसकेकी छन् ।

विराटनगरले शुक्रबारसम्म गरि मुलुकका लागि ६ जना प्रधानमन्त्री पाइसकेको छ । विराटनगरबासीले भने यस ठाउँबाट ७ जना प्रधानमन्त्री बनेको तर्क गर्छन्।

यो नगरबाट प्रधानमन्त्री बन्नेमा एकै बुबाका तीन छोरा विपी, मात्रिका र गिरिजाप्रसाद कोइराला छन् । उनीहरु बुबा कृष्णप्रसाद कोइरालाका सन्तान हुन्।
त्यसैगरी पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी सहित नगेन्द्रप्रसाद रिजाल र पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की यो सूचीमा परेकी छन् ।

धनकुटा मुगा जन्मथलो भएका सूर्यबहादुर थापालाई पनि यहाँको समाजले प्रधानमन्त्रीको सूचीमा विराटनगरको मान्दै आएको छ । विराटनगरमा पनि घर भएका उनी धनकुटा र यहाँ दुबै तिर बसोबास गर्थे ।

औद्योगिक राजधानी विराटनगर पछिल्लो पटक कोशी प्रदेशको राजधानीले पनि परिचित छ । विराटनगर प्रजातान्त्रिक आन्दोलनको उदगम स्थल मात्र नभएर राजनीतिक नेतृत्व जन्माउने सहरको रूपमा पनि परिचित छ ।