सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगी अड्डा बाहिर जेनजीकै बिरोध

0
Shares

काठमाडौं । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने तयारी भइरहेको भन्दै केही युवाले विरोध जनाएका छन् ।

बिहीबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरूले कार्कीलाई सरकार प्रमुख बनाउने प्रयासप्रति असहमति व्यक्त गर्दै यस्तो निर्णय आफूहरूको माग विपरीत हुने बताए ।

उनीहरूले जेन–जी आन्दोलनको उद्देश्य कार्कीलाई नेतृत्वमा पुर्‍याउने नभई भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध अन्त्यका लागि भएको हो।

सो क्रममा भारतीय मिडियाप्रति पनि युवाहरू आक्रोशित बने । ‘गो ब्याक इण्डिया’ जस्ता नारा लगाउँदै उनीहरूले जंगीअड्डामा भारतीय पत्रकारलाई अनुमति दिइएको तर नेपाली पत्रकारलाई प्रवेश रोकिएकोप्रति आपत्ति जनाए ।

स्थिति नियन्त्रणमा लिन सेनाले प्रदर्शनकारीलाई त्यहाँबाट हटाउने प्रयास गरेको थियो ।

यसअघि भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पद त्यागेका थिए । त्यसपछि नयाँ जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो।

अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेनाको समन्वय र जेन–जी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा समर्थन गरेका छन् ।