मकवानपुर कारागारबाट २६० कैदीबन्दी फरार

0
Shares


हेटौंडा । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन् ।

राति १२स् ५५ बजे कारागारको ‘क’ ब्लकमा रहेका केदीबन्दीहरूले तीन वटा गेट फुटाएर बाहिर निस्किन खोजेका थिए । उक्त ब्लकका २६० जना कैदीबन्दीले कारागारको पश्चिम तर्फको पर्खाल भत्काएर भागेको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए ।

ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकोमा करिब २३० जनालाई नियन्त्रणमा लिएर फर्काइएको उनले बताए ।

सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको कारागार प्रमुख पौडेलले जानकारी दिए ।

झडपमा सेनाले चलाएको गोली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा गोली चलाउँदा कैदीबन्दीलाई लाग्न पुगेको पौडेलले जनाए ।

कैदीबन्दीहरूले कारागारमा तोडफोड र आगजनी गरेका छन् । सेनाले स्थिति नियन्त्रणमा लिन २०० हवाई फायर गरेको थियो ।

सशस्त्र प्रहरीले पनि २ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले जानकारी दिए ।