जेनजीको विरोध प्रदर्शनमा भएको दमन बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले के भने ?

280
Shares


काठमाडौं । भ्रष्टाचार र बेथितिका विरुद्ध युवा पुस्ता जेनजीले सोमवार गरेको विरोध प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएको घटनालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

भारतबाट प्रकाशित हुने द हिन्दु पत्रिकाले मंगलवार पहिलो पृष्ठमै यसलाई समाचार बनाएको छ । सञ्जीव सतगैंयाको बाईलाइनमा प्रकाशित समाचारमा शान्तिपूर्ण प्रदर्शन एक्कासि हिंसात्मक भएपछि राज्यले दमन गरेको उल्लेख गरिएको छ । जेनजीले भ्रष्टाचार, कुशासन र भाइभतिजावादका विरुद्ध सामाजिक सञ्जालमा अभियान चलाइरहेका युवा सामाजिक सञ्जाल सरकारले बन्द गरेपछि सडकमा ओर्लिएको समाचारमा लेखिएको छ ।

त्यस्तै अमेरिकाबाट प्रकाशित हुने द न्युयोर्क टाइम्सले जेनजीको विरोध प्रदर्शनमा १९ जना मारिएको समाचार बनाएको छ । अमेरिकाकै द वाशिङटन पोस्टले पनि यस विषयमा समाचार प्रकाशन गरेको छ । १९ जना मारिएको र सयौं घाइते भएको खबर उसले दिएको छ । तर, उसले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका कारण हिंसा भड्किएको भनी समाचारको फ्रेमिङ गर्दै हेडलाइन बनाएको छ ।

बेलायतबाट प्रकाशन हुने द गार्डियन पत्रिकाले पनि यस विषयमा समाचार बनाएको छ । जेनजीको विरोध प्रदर्शनपछि नेपाल सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएको उसले लेखेको छ । प्रदर्शनमा प्रहरीले गोली चलाउँदा युवाहरूको मृत्यु भएको र सयौंजना घाइते भएको भनी एम्नेस्टी इन्टरनेशनलले जारी गरेको विज्ञप्तिलाई पनि उक्त पत्रिकाले समेटेको छ ।

क्यानडाबाट प्रकाशित हुने ग्लोब एन्ड मेल पत्रिकाले एसोसिएटेड प्रेसको सामग्रीलाई उल्लेख गर्दै नेपालले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको समाचार प्रकाशन गरेको छ । त्यसैलाई आधार बनाएर धेरैजसो सञ्चारमाध्यमले यो विरोध प्रदर्शनलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्धको एंगल दिँदै भ्रष्टाचार र भाइभतिजावादविरुद्धको आन्दोलनको कुरालाई कम प्राथमिकता दिएका छन् ।

उता हिन्दुस्तान टाइम्सले सोमवार विकसित घटनाक्रमको लाइभ फीड आफ्नो अन्लाइन संस्करणमा चलाइरहेको छ । हिंसाका घटनाको विवरणका साथै सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएको घटनासम्मलाई उसले लगातार अप्डेट गरिरहेको छ ।

दी इन्डियन एक्सप्रेसले पनि जेनजीको विरोध प्रदर्शन र त्यसमा राज्यले गरेको दमनको लाइभ अप्डेट अन्लाइन संस्करणमा दिइरहेको छ ।