जेनजीको प्रदर्शन: १८ जनाको मृत्यु, सयौं घाइते

196
Shares

काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले सुरु गरेको प्रदर्शन हिंसात्मक बन्दा १८ जनाको मृत्यु भएको छ भने साढे २ सयभन्दा बढी घाइते भएका छन् ।

काठमाडौंमा मात्रै १६ जनाको मृत्यु भएको छ भने इटहरीमा २ जनाको गरि १८ जनाको मृत्यु भएको छ । उपत्यकाबाहिर पोखरा, झापा, मोरङ र इटहरीमा समेत प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् ।

सोमबारदेखि सुरू भएको आन्दोलन उग्र भएपछि काठमाडौंसहित देशका विभिन्न भागमा कर्फ्यू जारी भएको छ तर प्रदर्शनकारीले सडक छाडेका छैनन् । संघीय संसद भवनमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेपछि स्थिति नियन्त्रणबाहिर गएको हो।

घाइतेहरूले काठमाडौंका विभिन्न अस्पताल भरिएका छन् । सिभिल अस्पतालमा तीन जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ । त्यसमध्ये १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ । ट्रमा सेन्टरमा मात्र आठ जनाको ज्यान गएको छ भने ४९ जना उपचाररत छन् ।

एभरेष्ट अस्पतालमा उपचारका लागि लगिएका तीन जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचाररत छन्। त्यसमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)मा तीन जनाको मृत्यु भएको ३४ जना घाइतेको उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइतेको उपचार भइरहेको छ । वीर अस्पतालमा छ जना उपचाररत छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा तीन, पोखरा गण्डकी अस्पतालमा एक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई र झापाको दमकमा सात जना घाइतेको उपचार भइरहेको छ।

घाइते मध्ये कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने छ ।