
चीनको बेइजिङमा सैन्य परेड सुरु भएको छ । जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासीवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवलाई स्मरण गर्दै सैन्य परेडको आयोजना भएको हो ।
नेपाली समय अनुसार बुधबार बिहान तियानमेन स्क्वायरमा आयोजिन विशाल सैन्य परेडमा एकै किसिमको वर्दीमा सिपाहीहरू पंक्तिबद्ध भएर सिँढीबाट तल ओर्लिंदै र विशाल रातो कार्पेटमा मार्च गरिरहेको देखिएको छ ।
परेडमा ८० औं वार्षिकोत्सवको स्मरणमा ८० तोपको सलामी दिइएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ पत्नीसहित उपस्थित छन् । बेइजिङ परेडका सबैभन्दा प्रमुख पाहुनामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन हुन् । उनीहरू पहिलो पटक चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै साइडमा उभिने भएका छन् ।
डुआनमेन गेट हुँदै तियानानमेन स्क्वायर प्रवेश गर्ने एशियाली नेताहरूमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, इरानी राष्ट्रपति मसउद पेझेस्कियन, मङ्गोलियाली राष्ट्रपति उख्नागिन खुरेलसुख र अन्य रहेका छन् ।
यसअघि देशमा भएको प्रदर्शनका कारण परेडमा सहभागी नहुने जनाइएका इन्डोनेशियाली राष्ट्रपति पनि बेइजिङ पुगेका छन् । इन्डोनेशियाली राष्ट्रपति प्रबोवो सुबिआन्तो चश्मा र खैरो सूटमा रातो कार्पेटमा देखिए ।
केन्द्रीय एसियाका धेरै मुलुक पनि प्रतिनिधित्व गरिरहेका छन्, जसमा कजाखस्तान, उजबेकिस्तान, ताजिकिस्तान र किर्गिस्तानका नेताहरूको नाम सूचीमा छ ।
युरोपतर्फबाट मात्र दुई नाम आएका छन् – स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाका राष्ट्रपति एलेक्जान्दर भुचिच ।
परेडमा अन्य महादेशका नेताहरू पनि सहभागी भएका छन् । अफ्रिकादेखि क्यारेबियनसम्मका प्रतिनिधि छन् । जसमा क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेल र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुज्जु समेत रहेका छन्।
भिडियो स्रोत: समाचार संस्था एपी








प्रतिक्रिया