विपक्षीहरूले आमालाई गाली गरेकाले चित्त दुखेको मोदीको भनाइ, गला अवरुद्ध बनाउँदै गरे सम्बोधन

1.8k
Shares

एजेन्सी । विपक्षी कांग्रेस र आरजेडीका नेताहरूले आफ्नी आमालाई गाली गरेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चित्त दुखाएका छन् ।

मंगलवार एक समारोहलाई सम्बोधन गर्दै मोदीले आमा बितिसकेको भए पनि विपक्षीहरूले उहाँलाई गाली गरिरहेको र यो दुःखदायी भएको बताए ।

बिहारमा महिलाहरू जोडिएको आत्मनिर्भर समूहको नयाँ सहकारीको भर्चुअल उद्घाटन समारोहमा मोदीले आमामाथि गालीगलौज बर्साइएको भन्दै गर्दा बिहार भाजपाका अध्यक्ष दिलिप जायसवाल रोएका थिए ।

गत साता सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप सार्वजनिक भएको थियो । त्यसमा केही अपरिचित मानिसले मञ्चबाट मोदीलाई आमाको गाली दिएका थिए । कांग्रेस पार्टीका नेता राहुल गान्धीको भोट अधिकार यात्राका दौरान उक्त गालीगलौज गरिएको थियो ।

दरभंगा जिल्लामा उक्त भिडियो खिचिएको बताइएको छ । राहुल, उनकी बहिनी प्रियंकाका साथै आरजेडीका नेता तेजस्वी यादव दरभंगाबाट मोटरसाइकल चढेर मुजफ्फरपुर गएका थिए ।

मोदीले गला अवरुद्ध पार्दै भिडियोमा उपयोग गरिएको भाषाबाट बिहारका सबै आमा र छोरीहरूको अपमान भएको बताए ।

‘मेरी आमाले मलाई तपाईंहरू जस्ता करोडौं आमाको सेवा गर्नका लागि बाहिर पठाउनुभयो । मेरी आमा जीवित हुनुहुन्न । केही समयअघि १०० वर्षको उमेर बाँचेर उहाँ हामीलाई छोडेर जानुभयो । मेरी आमालाई राजनीतिसँग कुनै मतलब थिएन र उहाँ बितिसक्नुभएको छ । उहाँलाई आरजेडी र कांग्रेसको मञ्चबाट गालीगलौज गरियो,’ मोदीले बताए ।