
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो मृत्यु र खराब स्वास्थ्यको हल्लामा प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै उनले जीवनमा यति राम्रो अनुभव कहिल्यै नगरेको लेखे । कन्जर्भेटिभ टिप्पणीकार डीसी ड्रेनोले गरेको पोस्टमा प्रतिक्रिया जनाउँदै ट्रम्पले सुस्वास्थ्यको दाबी गरेका हुन् ।
ड्रेनोले लेखे, ‘जो बाइडन कैयौं दिनसम्म सार्वजनिक स्थानमा देखिँदैनथिए अनि मिडियाले उनी चुस्तदुरुस्त रहेको भन्थे । तर, उनी डाइपर लाएर बस्थे र सुतिरहेका हुन्थे । राष्ट्रपति ट्रम्पले अमेरिकाको इतिहासमै कुनै पनि राष्ट्रपतिभन्दा बढी सार्वजनिक काम गर्नुभएको छ । उहाँ २४ घन्टा हराउँदा मिडियाले अन्टसन्ट लेख्छ । हास्यास्पद दोहोरो मापदण्ड ।’
त्यसमा ट्रम्पले प्रतिक्रिया दिए, ‘मेरो जीवनमा यति राम्रो अनुभव कहिल्यै गरेको थिइनँ ।’

सामाजिक सञ्जालमा ट्रम्पको स्वास्थ्य बिग्रेको हल्ला चलेको छ । एक्समा ह्याशट्याग ट्रम्पइजडेड अर्थात् ट्रम्पको मृत्यु समेत चलेको छ । गत साता ह्वाइट हाउसले राष्ट्रपतिको कुनै पनि गतिविधिको तालिका सार्वजनिक नगरेपछि अनुमानको बजार तातेको थियो ।
तर, ट्रम्पले यी हल्लाहरूलाई खारेज गर्दै शनिवार गल्फ खेलिरहेको तस्बिर पोस्ट गरेका थिए । त्यस तस्बिरलाई पनि झूटो भनी केही प्रयोगकर्ताले टिप्पणी गरेका थिए ।
त्यसमाथि उपराष्ट्रपति जेडी भ्यान्सले भयानक त्रासदी आएछ भने आफू राष्ट्रपतिको भूमिका निर्वाह गर्न तयार रहेको भनेपछि हल्ला झन् फैलिएको थियो । ट्रम्प स्वस्थ र ऊर्जावान् रहेको भन्नेमा जोड दिँदै भ्यान्सले भवितव्यलाई टार्न नसकिने बताएका थिए ।








प्रतिक्रिया