
एजेन्सी । रुसको गाजप्रोम कम्पनीले चीनलाई बेच्दै आएको ग्यासको भोलुम बढाउने भएको छ ।
त्यसका साथै रुसले पावर अफ साइबेरिया २ पाइपलाइन बनाउनका लागि सहमतिमा पनि हस्ताक्षर गरेको छ । तर, युरोपेली खरिदकर्ताहरूसँग लिइरहेको मूल्यभन्दा सस्तो मूल्यमा रुसले चीनलाई ग्यास बेच्न लागेको हो ।
रुसले चीनसँगको ऊर्जा सम्बन्धलाई विस्तार गर्न खोजिरहेको स्थितिमा यो निर्णय लिएको हो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली बजार उल्लेख्य रूपमा गुमाएको रुसले चीनसँगको सम्बन्ध बढाउन खोजेको हो ।
पावर अफ साइबेरिया पाइपलाइन पूर्वी साइबेरियाबाट चीनसम्म पुग्ने गर्छ । त्यसबाट वर्षको ४४ अर्ब क्युबिक मिटर ग्यास प्रवाहित हुने गरेको छ ।
त्यसका साथै रुस र चीनले पावर अफ साइबेरिया २ पाइपलाइन बनाउनका लागि सम्झौता गरेका छन् । त्यसले रुसको यमालमा रहेका बोभानेनकोभो र खारासाभे ग्यास फिल्डबाट मंगोलियाको बाटो हुँदै वर्षको ५० अर्ब क्युबिक मिटर ग्यास प्रवाहित गर्छ ।
पावर अफ साइबेरिया २ संसारको सबभन्दा ठूलो र पूँजीयुक्त ग्यास परियोजना हो । यसको निर्माण कसले गर्ने स्पष्ट छैन । अन्तिम लगानी कसले गर्ने भन्ने पनि खुलेको छैन ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका राष्ट्रपति सी चिनपिङ र मंगोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग बेइजिङमा कुराकानी गरेका छन् । त्यस भेटमा पावर अफ साइबेरिया २ पाइपलाइनको विषय पक्का भएको हो ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले सी र पुटिनबीच गहिरो छलफल भएको र उनीहरूले ऊर्जा लगायतका क्षेत्रमा २० वटाभन्दा बढी द्विपक्षीय साझेदारीमा हस्ताक्षर गरेको समाचार प्रकाशन गरेको छ ।
यो खबर आएपछि मस्कोको सेयर बजारमा गाजप्रोमको सेयर ०.५ प्रतिशतले बढेको थियो ।
गाजप्रोमले पावर अफ साइबेरिया नामक पाइपलाइनबाट प्राकृतिक ग्यास चीनलाई पठाउने गरेको छ । तीन हजार किलोमिटर लामो पाइपलाइनका लागि ३० वर्षको सम्झौता गरिएको हो । सन् २०१९ को अन्त्यमा ४०० अर्ब डलर बराबरको सम्झौता भएको हो ।
सन् २०२४ मा करिब ३१ अर्ब क्युबिक मिटर ग्यास निर्यात गरिएको थियो । यो वर्ष ३८ अर्ब क्युबिक मिटर ग्यास आपूर्ति गर्ने अपेक्षा छ ।








प्रतिक्रिया