चीनमा सम्पन्न एससीओ सम्मेलनमा २० दस्तावेजमा हस्ताक्षर, बहुपक्षीय व्यापार प्रणालीमा जोड

217
Shares

एजेन्सी । शाङ्हाई सहयोग संगठन (एससीओ) का राष्ट्रप्रमुखहरूको परिषद्को बैठक सोमवार चीनको थ्यान्चिनमा सम्पन्न भएको छ ।

उक्त बैठकमा सदस्य राष्ट्रहरूले क्षेत्रीय सहकार्य, सुरक्षा, अर्थतन्त्र, प्रविधि र दिगो विकाससँग सम्बन्धित २० वटा महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

परिषद्को घोषणापत्र अन्तर्गत थ्यान्चिन घोषणा स्वीकृत गरिएको छ । साथै, सन् २०३५ सम्मको एससीओ विकास रणनीति, २०२६–२०३० का लागि उग्रवादी विचारधाराविरुद्ध सहकार्य कार्यक्रम, र सन् २०३० सम्मको ऊर्जा सहकार्य रणनीति कार्यान्वयन रोडम्याप पारित गरिएको छ ।

बैठकले लाओसलाई एससीओ संवाद साझेदारको दर्जा दिने निर्णय गरेको छ । साथै, एससीओलाई स्वतन्त्र राष्ट्रमण्डल (कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स – सीआईएस) भित्र पर्यवेक्षकको दर्जा दिने र संगठनको साझेदारी दर्जा सम्बन्धी निर्णय पनि पारित गरिएको छ ।

किर्गिस्तानको चोल्पोन आटा शहरलाई सन् २०२५–२०२६ का लागि एससीओको पर्यटन तथा सांस्कृतिक राजधानी घोषणा गरिएको छ ।

महासचिवलाई महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर गर्ने अधिकार प्रदान गरिएको छ, जसमा सन् २००४ मा चीन सरकार र एससीओबीच भएको सचिवालय शर्त सम्बन्धी सम्झौतामा प्रोटोकल र रोसकंग्रेस फण्डसँगको समझदारीपत्र समावेश छ ।

विगत वर्षको गतिविधि प्रतिवेदनसमेत स्वीकृत गरिएको छ । यसमा एससीओ महासचिवको प्रतिवेदन र सन् २०२४ मा एससीओ क्षेत्रीय आतंकवादविरोधी संरचनाको प्रतिवेदन पनि पर्छ ।

सदस्य राष्ट्रबीच लागूऔषधनिरोधी केन्द्र र सुरक्षा चुनौती तथा खतराविरुद्धको साझा केन्द्र स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ ।

राष्ट्रप्रमुखहरूले विभिन्न विषयमा संयुक्त वक्तव्य जारी गरेका छन् । तीमध्ये दोस्रो विश्वयुद्ध समाप्ति र संयुक्त राष्ट्रसंघ स्थापनाको ८०औं वार्षिकोत्सव, डिजिटल अर्थतन्त्रमा सहकार्य, दिगो ऊर्जा विकास, हरित उद्योग, कृत्रिम बुद्धिमत्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य, बहुपक्षीय व्यापार प्रणालीलाई समर्थन, लागूऔषध समस्या नियन्त्रण, विज्ञान–प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सहकार्य सम्बन्धी वक्तव्य छन् ।

त्यस्तै, दिगो विकास क्षेत्रमा लगानी सहकार्य सुदृढ गर्न सदस्य राष्ट्रका सम्बन्धित मन्त्रालय तथा निकायहरूको संयुक्त वक्तव्य पनि स्वीकृत गरिएको छ ।

अन्ततः, सन् २००४ मा चीन सरकार र एससीओबीच भएको सचिवालय शर्तसम्बन्धी सम्झौतामा प्रोटोकलमा हस्ताक्षर गरिएको छ ।

यसरी, थ्यान्चिनमा सम्पन्न एससीओ शिखर सम्मेलनले संगठनको आगामी मार्गचित्र, क्षेत्रीय स्थायित्व र सहकार्यको आधारलाई थप मजबुत बनाएको छ ।