
एजेन्सी । शाङ्हाई सहकार्य संगठन (एससीओ) सम्मेलनमा पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरिएको छ ।
एससीओको संयुक्त वक्तव्यमा भनिएको छ, ‘सदस्य राष्ट्रहरूले आतंकवादका सबै स्वरूपको कडा निन्दा गरेका छन् ।
आतंकवादविरुद्धको लडाइँमा दोहोरो मापदण्ड अस्वीकार्य रहेकोमा उनीहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकाअन्तर्गत आतंकवादविरुद्ध काम गर्न आह्वान पनि गरेका छन् ।’
सदस्य राष्ट्रहरूले सर्वसम्मतिमा अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी बृहत् सम्मेलन आयोजना गर्नु महत्त्वपूर्ण भएको कुरामा पनि जोड दिएका छन् ।
वक्तव्यमा भनिएको छ, सदस्य राष्ट्रहरूले सन् २०२५ अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् ।
त्यसैगरी एससीओको संयुक्त वक्तव्यमा पाकिस्तानको जाफर एक्सप्रेस रेलमा भएको आतंकवादी आक्रमणको पनि निन्दा गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘सदस्य राष्ट्रहरूले मार्च ११ मा जाफर एक्सप्रेसमा र मे २१ मा खुजदारमा भएका आतंकवादी आक्रमणहरूको पनि कडा निन्दा गरेका छन् । यस्ता आक्रमणमा संलग्न, त्यसको योजनामा सहभागी र त्यसका समर्थकहरूलाई न्यायको कठघरामा ल्याइनुपर्ने उनीहरूले माग राखेका छन् ।
सदस्य राष्ट्रहरूले आतंकवाद, पृथक्तावाद र अतिवादविरुद्ध आफ्नो दृढ प्रतिबद्धता दोहोर्याएका छन् । यस्ता समूहहरूबाट फाइदा लिनु वा आफ्ना स्वार्थमा प्रयोग गर्नु अस्वीकार्य रहेको उनीहरूले स्पष्ट पारेका छन् । आतंकवाद र अतिवादसँग जुध्नमा सार्वभौम देश र तिनका संस्थाहरूको महत्त्वपूर्ण भूमिका हुने कुरालाई उनीहरूले जोड दिएका छन् ।








प्रतिक्रिया