एससीओमा चीनका राष्ट्रपतिले उठाए पञ्चशीलको कुरा, के छ यसको महत्त्व ?

294
Shares

एजेन्सी । पाँच दशकभन्दा बढी समयपछि भारत र चीनबीचको पञ्चशील सम्झौता फेरि चर्चामा आएको छ ।

चीनमा भइरहेको शाङ्हाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा विश्व नेताहरूसमक्ष चीनका राष्ट्रपति सी चिनपिङले यस सम्झौतोलाई “शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त” भन्दै स्मरण गरे ।

यो सम्झौता एकअर्कालाई आक्रमण नगर्ने र आपसी मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तका आधारमा बनेको हो । यसले भारत र चीनबीच मात्र नभई सबै राष्ट्रबीच शान्तिपूर्ण सहअस्तित्वलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो ।

अहिले यो सम्झौतालाई अनिश्चितता र बढ्दो भूराजनीतिक तनावबीच देशहरूको सम्बन्धलाई बलियो बनाउने मार्गदर्शक संरचनाका रूपमा हेरिएको छ ।

आइतवार चीनको थ्यान्चिनमा भइरहेको एससीओ शिखर सम्मेलनको छेउछाउमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटमा राष्ट्रपति सीले पञ्चशील सम्झौताका सिद्धान्तलाई महत्त्वका साथ उठाए ।

पञ्चशीललाई कायम राख्नुपर्ने भन्दै उनले शान्ति र सहअस्तित्व प्रवर्द्धन गर्ने पाँच सिद्धान्तलाई सम्मान गर्नुपर्ने धारणा राखे ।

५० प्रतिशत भन्सार शुल्क लगाइएकाले अमेरिकासँग बढेको व्यापारिक तनावका बीच भारतले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई पुनर्मूल्यांकन गरिरहेको छ, जसमा चीन पनि पर्छ ।

सन् २०२० को गलवान उपत्यकामा भएको भिडन्तपछि दिल्ली र बेइजिङका सम्बन्ध चिसिएको थियो । सीमा भिडन्तपछिको पहिलोपटक चीन भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले द्विपक्षीय व्यापार र सहकार्यलाई पुनर्जीवित गर्ने संकेत दिएका छन् ।

पञ्चशील, वा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पहिलोपटक सन् १९५४ मा भारत र चीनबीच तिब्बत व्यापार सम्झौताका सन्दर्भमा समावेश गरिएको थियो । पाँच सिद्धान्त यसप्रकार छन् : एक–अर्काको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान, पारस्परिक आक्रमण नगर्ने, एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र आपसी लाभमा जोड दिने र शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने ।

चीनका प्रधानमन्त्री चाउ एनलाईको भारत भ्रमणमा उनी र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूबीच पञ्चशील भारत र चीनका लागि मात्र नभई अन्य सबै राष्ट्रसँगको सम्बन्धका लागि पनि उपयोगी हुने सहमति भएको थियो ।

यो सन्धि शान्ति र सुरक्षाको आधार तयार गर्ने उद्देश्यले गरिएको थियो । सन् १९५४ मा भर्खरै स्वतन्त्रता हासिल गरेका मुलुकहरूलाई आफ्नो स्वतन्त्रता मजबुत बनाउन पञ्चशीलले एउटा वैकल्पिक मार्गदर्शन दिएको थियो । त्यसले द्विपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धमा शान्ति र विकासलाई आधार बनायो ।

त्यतिबेला संयुक्त वक्तव्यमा दुवै प्रधानमन्त्रीले भनेका थिए— “पञ्चशील अपनाउँदा शान्तिको क्षेत्रमा विस्तार हुनेछ, युद्धको सम्भावना घट्छ र विश्वभर शान्तिको कारण बलियो हुन्छ ।”

प्रमुख शक्तिहरूबीच तनाव बढिरहेको अवस्थामा आज करिब ५० वर्षपछि सन् १९५४ मा सुरु गरिएको त्यो पहल अझ महत्त्वपूर्ण भएको छ । राष्ट्रपति सीले पञ्चशील सम्झौता कायम राख्न गरेको आह्वान अहिलेको संघर्ष अन्त्य गर्न र पश्चिमसँगको प्रतिस्पर्धाबीच क्षेत्रमा प्रभाव बढाउन जरुरी भएको संकेत हो ।

राष्ट्रपति सीले पञ्चशीलको महत्त्व उठाएको यो पहिलोपटक होइन । यसै वर्ष जुन महिनामा उनले पञ्चशील सिद्धान्तलाई आफ्नो नयाँ “वैश्विक सुरक्षा पहल” सँग जोडेर प्रस्तुत गरेका थिए । उनले भने— “शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त समयको माग अनुसार आएका हुन् । यी सिद्धान्तले अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय कानूनमा ऐतिहासिक स्तर तय गरेका छन्।”

आइतबार मोदीसँगको भेटमा सीले दुई देशबीच रणनीतिक संवाद बढाउने र आपसी विश्वास गहिरो पार्ने विषयमा जोड दिए । उनले आपसी लाभका लागि सहकार्य विस्तार गर्ने, एक–अर्काको सरोकारलाई ध्यानमा राख्ने र शान्ति–सौहार्द्र कायम गर्ने विषयमा पनि चर्चा गरे ।

एसियाका यी दुवै छिमेकीले आफ्नो शक्ति मिलाएर सीमा क्षेत्रमा शान्ति कायम राख्नुपर्छ, सीमा समस्याले सम्पूर्ण भारत–चीन सम्बन्धलाई परिभाषित गर्न दिन नहुने चीनको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीको भनाइ उद्धृत गर्दै लेखिएको छ ।

प्रधानमन्त्री मोदीले सीलाई भारत र चीन प्रतिस्पर्धी नभई साझेदार भएको बताए । दुवै देशबीचको असहमतिभन्दा सहमति धेरै भएको उल्लेख गर्दै उनले भारत दीर्घकालीन दृष्टिकोणबाट सम्बन्ध विकास गर्न तयार रहेको बताए ।

विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको अवस्थामा भारत र चीन जस्ता ठूला अर्थतन्त्रहरूले सहकार्य मजबुत गर्नु जरुरी रहेको उनले थपे । मोदीले सम्बन्ध फेरि सकारात्मक दिशामा गएको छ, सीमा क्षेत्रमा शान्ति–स्थिरता कायम भएको छ, र प्रत्यक्ष हवाई उडानहरू पुनः सुरु हुन लागेको पनि बताए ।