एससीओमा सी, मोदी र पुटिनबीच सौहार्द्रपूर्ण कुराकानी (भिडियो)

133
Shares

एजेन्सी । चीनको थ्यानचिन शहरमा आयोजना भइरहेको शाङ्हाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को साइडलाइनमा चीन, रुस र भारतका सरकारप्रमुखहरूबीच सौहार्द्रपूर्ण कुराकानी भएको छ ।

चीनका राष्ट्रपति सी चिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हात मिलाएर, अँगालो मारेर र मुस्कान छरेर एक्यबद्धताको सन्देश दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा तस्बिर पोस्ट गर्दै मोदीले लेखे, ‘थ्यानचिनमा अन्तर्क्रियाहरू जारी छन् । राष्ट्रपति सी र राष्ट्रपति पुटिनसँग एससीओ शिखर सम्मेलनमा दृष्टिकोण आदानप्रदान गर्दै ।’

अर्को पोस्टमा मोदीले पुटिनसँगको न्यानो अन्तर्क्रियाको तस्बिर राख्दै लेखे, ‘राष्ट्रपति पुटिनलाई भेट्दा सधैं आनन्द आउँछ ।’
निकै चर्चित भएको एउटा भिडियोमा मोदीले पुटिन र सीलाई आफूनजिक ल्याएर एकताको प्रतीकात्मक सन्देश दिन खोजेका छन् ।

एससीओका राष्ट्रप्रमुखहरूको २५औं बैठकमा नेताहरूले संगठनको भविष्यको मार्गचित्रका विषयमा चर्चा गरेका छन् ।

आइतवार साँझ शिखर सम्मेलनको औपचारिक उद्घाट गरिएको थियो । त्यसमा सी, मोदी, पुटिन र नेपालका प्रधनमन्त्री केपी शर्मा ओली सहितका नेता उपस्थित थिए ।

एससीओको इतिहासमा यो सबभन्दा ठूलो जमघट हो । यसमा २० भन्दा बढी मुलुकका नेता र १० वटा अन्तर्राष्ट्रिय निकायका प्रमुखहरू सहभागी छन् ।

चीनको अध्यक्षता रहेको एससीओमा एससीओ प्लसको अवधारणामा सदस्य बाहेकका मुलुक र संस्थालाई पनि निमन्त्रण गरिएको हो ।

आइतवार साँझ आयोजित रात्रिभोज समारोहमा सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनपिङले विश्वव्यापी अनिश्चितताको माहोलमा क्षेत्रीय शान्ति र स्थिरताको सुरक्षा गर्ने बृहत्तर जिम्मेवारी एससीओको काँधमा रहेको बताए । यस शिखर सम्मेलनले सदस्य राष्ट्रहरूबीचको एक्यबद्धतालाई सुदृढ बनाउने, समग्र दक्षिणसँगको सहकार्यमा अभिवृद्धि गर्ने र मानव सभ्यतालाई अघि बढाउने आत्मविश्वास उनले व्यक्त गरे ।