यात्रुले माग्दा टिकट नपाउने तर जहाज भने सिट खाली राखेर उड्छन् किन ?

6.9k
Shares

हामीले आन्तरिक वा अन्तर्राष्ट्रिय उडान कैयौं पटक हवाइजहाजबाट यात्रा गरिसकेका छौं । यसरी उडान गर्नको लागि पहिले ट्राभल एजेन्सीबाट वा वायुसेवा कम्पनीको सेल्स अफिसबाट टिकट लिने गर्छौं ।

आजभोलि त झन् अनलाइन सेवा मार्फत मोवाइलबाटै टिकट लिने लिन्छौं । यसरी टिकट खरिद गर्दा कहिलेकाहीँ अति आवश्यकता वा आकस्मिकता परेको दिनको टिकट नै पाइँदैन, पाइए पनि बडो मुस्किलले । अझ उस्तै परे ठूलो भनसुनले मात्र टिकट हात पर्दछ । आश्चर्य त त्यतिखेर हुन्छ जब हामी त्यति पापड बेलेर हात पारेको टिकट लिएर जहाजमा उड्ने बेला कति सिट त खाली नै हुन्छन् ।

काठमाडौं दाङको उडानमा होस् वा काठमाडौं सिमरा,  दम्माम काठमाडौ वा दोहा काठमाडौ, आन्तरिक वा अन्तर्राष्ट्रिय कुनै पनि उडानमा टिकट दर अत्याधिक महङ्गो भए तापनि यस्ता खाली सिटहरु देखिन सक्छन् ।

हामीले यदाकदा सुन्ने गरेको एयरलाइन्सका कर्मचारीले लामो समयसम्म सिट लुकाएर अन्तिम समयमा बिक्रीमा राख्नाले वा बदमासी गरेर नबेच्नाले यसरी सिट खाली हुन्छन् भन्ने कुरा याद आउँछ । अनि अन्तिम समयमा त्यति महङ्गो दरमा टिकट किन्न पर्दा रिस उठ्नु स्वभाविकै पनि हो ।

त्यसो भए के सिट खाली राखेर उडाउने एयरलाइन्स कम्पनीका कर्मचारीहरूले बदमासी गरेका नै हुन्छन् त ?  के उनीहरु उडानभन्दा केही समय वा दिन अगावै सबै सिट केही कम दरमा बेचेर आय बढाउन सक्दैनन् ? यस्तो हुनुमा कर्मचारीको बदमासी कतै पनि हुँदैन । कर्मचारीहरुले प्रत्येक उडानमा इन्भेन्टरी म्यानेजमेन्ट गरेर आय बढाउने योजना बनाउने गर्दछन् ।

सबै वायुसेवा कम्पनीको मुख्य उद्देश्य भनेको अधिक भन्दा अधिक आय आर्जन गर्नु र नाफा कमाउनु नै हो भने यसको लागि सकेसम्म महङ्गो दरमा टिकट बेच्नु पर्ने हुन्छ । राजस्व व्यवस्थापनको एउटा पाटोको रूपमा आजभोलि नो शो रेटलाई व्यवस्थित गर्न फ्लाईट ओभर बुकिङ गर्ने गरिन्छ । यति हुँदाहुँदै पनि निम्न कारणले गर्दा उडानमा केही सिटहरु खाली नै रहन्छन् ।

नो शो प्यासेन्जर

कहिलेकाहीँ यात्रुहरु आफ्नो उडानको दिनमा भुलेर ढिला आउने, आफ्नो योजना परिवर्तन वा अन्य कुनै कारणले निर्धारित समयमा चेक इन काउनटरसम्म पुग्दैनन् । यसको पूर्व जानकारी वायुसेवा कम्पनीलाई नभएमा सिटहरु बिक्री गर्न सकिदैन । जसले गर्दा उडानमा सिट खाली देखिन्छ । अझ वैदेशिक श्रममा समूहमा जाने यात्रुहरु भएमा त झन् एक दुई जनाको कारणले समूह नै अनुपस्थित भैदिन सक्छन् ।

अन्तिम समयमा बुकिङ्ग रद्द

एक्लो वा यात्रुको समूहले नै अन्तिम समयमा आफ्नो योजना परिवर्तन गरी अन्तिम समयमा आफ्नो भ्रमण योजना रद्द गर्न सक्छन् । जस्तैः एयर इन्डियाको विमान दुर्घटना पश्चात होस् वा रूस युक्रेन अथवा इजरायल इरान युद्धको कारण, धेरै यात्रुहरुले अन्तिम समयमा आफ्नो उडान रद्द गरिरहेका हुन्छन् ।

इन्धनको कारण

नेपालका भौगोलिक विविधता तथा जटिलता भएका कैयौं विमानस्थलमा जहाजमा इन्धन भर्ने सुविधा छैन । जस्तै भोजपुर, रुकुम, लुक्ला आदि विमानस्थलमा पुगेका जहाजले त्यहाँ इन्धन भर्न पाउने सुविधा छैन् । यस्ता विमानस्थलमा उडान भर्दा फर्केर आउँदाको इन्धन पनि बोकेर जानु पर्ने हुन्छ । दुईतर्फी इन्धन बोक्दा जहाजको यात्रु उडन गर्ने क्षमता अर्थात पे लोड घट्न जान्छ जसले गर्दा त्यस्ता उडानमा यात्रुको सङ्ख्या कम गर्नु पर्ने हुन्छ ।

ब्यागेज स्पेस अभाव

ए३२० वा बी७३७ जस्ता जहाजहरु प्रति यात्रु २०-२५ केजी व्यागेज सहित पूर्ण यात्रु क्षमतामा ४ घण्टा आसपासको उडान गर्ने गरी बनाइएका हुन्छन् । नेपालीहरूको श्रम गन्तव्य मुलुकहरु जस्तै कतार, मलेशिया, साउदी अरेबिया वा संयुक्त अरब इमिरेट्स (यूएई)जस्ता देशबाट श्रमिकहरु प्राय: दुई वर्षमा एक पटक फर्किरहेका हुन्छन् ।

उनीहरूको चाहना तथा बजार प्रवर्द्धनको हिसावले प्रति यात्रु ३५-४० केजी व्यागेज सुविधा दिँदा जहाजमा १३५ देखि १४० यात्रुको मात्र व्यागेज अट्ने हुँदा त्यति नै यात्रु मात्र बोक्न पर्ने हुन्छ । यसले पनि १५० सिटको जहाजमा १०/१५ जनाको क्षमता घटाउनुपर्ने भएका कारण पनि ती उडानमा केही सिट खाली रहन्छन् ।

अध्यागमन अफ लोड

वैदेशिक भ्रमणमा जाँदा होस् वा श्रम गन्तव्यमा अध्यागमनमा पासपोर्ट भिसा बाहेकका अन्य कागजातहरु पनि पेश गर्नु पर्ने हुन्छ। श्रम गन्तव्यमा जाँदा चाहिने श्रमको अनुमति पत्र अथवा अध्ययन गर्न जाँदा चाहिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जस्ता कुनै पनि कागजात नपुगेमा वा नमिलेमा, वैदेशिक मुद्रा अपुग भएमा अध्यागमन कार्यालयले यात्रुलाई अन्तिम समयमा यात्रा अनुमति नदिन सक्छ ।

मिस्ड कनेक्सन

कुनै एक ठाउँबाट अर्को ठाउँसम्मको हवाई उडानमा पनि विभिन्न गन्तव्यमा जाने व्यक्तिहरुले यात्रा गरिरहेका हुन्छन् । कति यात्रुहरु त उक्त स्थानलाई ट्रान्जिट बनाएर पुनः अर्को गन्तव्यमा जानु पर्ने हुन्छ । यसरी यात्रा गर्दा कहिलेकाहीँ शुरुको उडान ढिला भैदिँदा कम ट्रान्जिट समय भएका यात्री वा समूहको नै अर्को उडान छुट्न पुग्छ । यसले गर्दा पनि अन्तिम समयमा सिट खाली हुन पुग्छन् ।

भौगोलिक विकटता र  रनवेको लम्बाईले लोड पेनाल्टी

हाम्रो जस्तो ८०% भन्दा बढी हिमाली र पहाडी भूभाग भएको देशमा एयरपोर्ट पनि विकट क्षेत्रमा धेरै हुन्छन् । त्यस्तोमा उडान गर्दा जहाजको पेलोड कम हुन जान्छ र जहाज पूर्ण क्षमतामा उडान गर्न सक्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज उडान अवतरण गर्दा होस् वा आन्तरिक उडानको ट्वीनअटर जस्ता साना जहाज मनाङ्को हुम्दे बिमानस्थलमा डाँडा काटेर जाँदा होस् अथवा निजी क्षेत्रका एटीआर ७२ जस्ता जहाज सिमरा, तुम्लिङ्टार जस्ता छोटो रनवे भएका विमानस्थलमा उडान अवतरण गर्दा होस् पेलोड रेस्टिक्सनको कारण पूर्ण क्षमतामा उडान अवतरण गर्न सक्दैनन् ।

अपरेसनल तथा म्यानेजमेन्टका कारण

जहाजमा कहिलेकाहीँ सिट बिग्रिएको हुन्छ । सुरक्षाको कारणले मर्मत नहुँदासम्म त्यस्तो सिटमा यात्रुलाई राखेर उडाउन मिल्दैन । विशेष कारणले नियामक निकायले कहिलेकाहीँ कुनै सिट खाली राख्न (कोभिड -१९ कालमा जस्तै) निर्देशन गरेको हुन सक्छ । एउटै गन्तव्यमा फरक प्रकारको जहाज (कुनै उडान ए३२०र कुनै उडान ए३३०) जहाज संचालन गर्दा पनि चालकदल सदस्यको फरक सङ्ख्याले गर्दा उनीहरुको लागि पनि सिट व्यवस्थापन गर्नु पर्ने हुन
सक्छ ।

रेगुलर टेक अफ वेट

कुनै पनि जहाजको पर्फरमेन्ट निश्चित स्याण्डर्ड कन्डिसनमा सर्टिफाइड हुन्छ । तर एकचुअल कन्डिसनमा कति विमानस्थलहरु समुद्र सतहभन्दा माथि तर गर्मी बढी हुने ठाउँमा हुन्छन् । जसलाई। हट एन्ड हाईट एयरपोर्ट भनिन्छ । त्यहाँ हावाको घनत्व घट्दै जान्छ । यसरी घट्दो घनत्व तथा छोटो रनवेको कारणले गर्दा जहाजको लिफ्ट (रेगुलेटेड टेक वेट) घट्दै जान्छ । लिफ्ट जहाजले बोकेर उड्न सक्ने (टेकअफको समयमा) क्षमता हो । यसरी जति लिफ्ट घट्दै जान्छ त्यति नै जहाजमा यात्रुको सङ्ख्या घटाउँदै लगिन्छ ।

जहाजको तौल, सन्तुलन र सुरक्षा

जहाज उड्नु पूर्व जहाजको तौल सन्तुलन एउटा महत्वपूर्ण पाटो हो । जहाजमा यात्रु तथा व्यागेज र कार्गोको वेटको समान वितरण हुनु पर्दछ । यसले जहाजको ट्रिम कन्ट्रोलमा रहन्छ र पाइलटले जहाजको एरोडाइनामिक फोर्सलाई सन्तुलनमा राखेर निश्चित उचाइ र गतिमा जहाजलाई नियमित तथा नियन्त्रण गर्न सक्दछन् । तर कहिलेकाहीँ जहाजको कुनै एक निश्चित भागमा धेरै तौल भएर जहाजको ट्रिम लाइन सेन्टर अफ ग्राभिटि (सीजी) इनेलपभन्दा बाहिर भएमा तौल सन्तुलन गर्न अन्तिम समयमा यात्रु, व्यागेज तथा कार्गो अफलोड हुन सक्छन् ।

सेवा प्रदायकको रणनीति राजस्व व्यवस्थापन

 वायुसेवा कम्पनीले आफ्नो पूर्ण क्षमताको निश्चित प्रतिशत सिटहरु महङ्गो दर (प्रिमियम रेट) मा बिक्री गरिसकेको भएमा अन्तिम समयमा टिकटको दर कम गर्दा पहिला बिक्री भएको टिकट फिर्ता गरेर सस्तो दरमा लिन सक्ने,  कम्पनीको ख्यातिमा असर पर्न सक्ने हुन्छ । यस्ता कारणले पनि उक्त उडानमा अपेक्षित नाफा आर्जन भैसकेको भए पहिलाकै दरमा बजारीकरण गरेर बिक्री नभएको सिटहरु त्यतिकै छोडिदिन सक्छन् ।

 निष्कर्षमा वायुसेवा कम्पनीहरुको उद्देश्य प्रत्येक उडानमा सम्पूर्ण सिटहरु सकेसम्म उच्च दरमा बिक्री गरी आय आर्जन गर्ने तथा अधिकतम उपज गर्ने हुन्छ । तर सुरक्षा लगायत विविध कारणहरुले गर्दा प्रत्येक उडानमा केही सिटहरु खाली राख्नुपर्ने बाध्यात्मक अवस्था हुन्छ । यो कुनै कम्पनी वा कर्मचारीको कमजोरी वा लापरवाही नभई  वाध्यता, निर्देशन र रणनैतिक योजना हुन सक्छ ।

(दिक्पाल वायुसेवा निगमका उपनिर्देशक हुन् । उनकाे यो लेख निगमले ६७ औं वार्षिकोत्सव विशेषाङ्क – आकाश भैरवबाट लिइएको हो ।)

Skip This