प्राइमको वित्तीय विवरणमा आकर्षक सुधार, ४ अर्ब बढी नाफा गर्दा १४% लाभांश क्षमता

6.5k
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५२ करोड रूपैयाँ बढी खुद नाफा गरेको हो ।

अघिल्लो आवमा बैंकको नाफा ३ अर्ब ५१ करोड रूपैयाँ थियो ।

बैंकको नाफा बढ्नुको कारण आम्दानीमा वृद्धि र प्रोभिजनमा कमी आउनु रहेको देखिएको छ ।

बैंकले आव २०८१/८२ मा ८ अर्ब ८२ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ रहेको छ । यता १ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ नोक्सानी व्यवस्था अर्थात् प्रोभिजन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्ता आम्दानी क्रमशः ७ अर्ब ८८ करोड २६ लाख र १ अर्ब ६७ करोड ८८ लाख थिए । बैंकले अघिल्लो आवमा १ अर्ब ६३ करोड ६७ लाख रूपैयाँ प्रोभिजन थप गरेको थियो ।

६४ करोड नेट ट्रेडिङ इन्कम र अदर अपरेरिङ इन्कमसहित बैंकले २०८१/८२ मा ९ अर्ब ७४ करोड ८० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । गत आव यस्तो आम्दानी ८ अर्ब १९ करोड ७४ लाख रुपैयाँ थियो ।

बैंकको खर्च हल्का घट्दा ६२ करोड १३ लाख रुपैयाँ गैरसञ्चालन खर्च देखिएको छ । जुन राइट अफ अर्थात् नोक्सानी बुक हो ।

नाफा बढ्दा प्राइमको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । २०८१ असार मसान्तसम्म १८ रुपैयाँ ८ पैसा रहेको ईपीएस २०८२ असारमा २० रुपैयाँ ७४ पैसा कायम भएको छ ।

यता बक्यौता ब्याज बढ्दा उठाएर ५२ करोड ३८ लाख रुपैयाँ रकम नियामकीय जगेडाबाट फिर्ता गरेको बैंकले गैरबैंकिङ सम्पत्ति थपेको छ । जसकारण करिब ७६ करोड रूपैयाँ रेगुलेटरी रिजर्भमा थप गरेको छ । बैंकले गरेको ४ अर्ब २ करोड रुपैयाँ नाफामध्ये २ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ लाभांशका रुपमा बाँड्न सक्ने देखिन्छ । यद्यपि गत आवसम्म रहेको ९९ करोड ५३ लाख रुपैयाँ रिटेन्ड अर्निङ समेत जोड्दा २०८२ असार मसान्तसम्मको वितरणयोग्य नाफा अर्थात् सञ्चित नाफा २ अर्ब ७८ करोड ८ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १९ अर्ब ४० करोड २६ लाखका आधारमा बैंकको लाभांश क्षमता १४.३३ प्रतिशत देखिन्छ । अघिल्लो आवमा लाभांश क्षमत ५.१३ प्रतिशत थियो ।

२०८२ असार मसान्तको तथ्यअनुसार बैंकको निष्क्रिय कर्जा घटेर ४.६५ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा बैंकको बेसरेट ८.४९ प्रतिशतबाट घटेर ६.४९ प्रतिशत कायम भएको छ भने ब्याजदर स्प्रेड ४ प्रतिशतबाट ३.६९ प्रतिशत कायम भएको छ ।

यसैगरी प्राथमिक पुँजी अनुपात पनि १०.६७ प्रतिशतबाट हल्का कम भएर १०.३९ प्रतिशत कामय हुँदा नेटवर्थ प्रतिसेयर १७३.७२ रुपैयाँ र पीई रेसियो १३.३२ रहेको छ ।

बैंकले असार मसान्तसम्म २ खर्ब ६३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब १० अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षको अवधिमा बैंकले निक्षेप ५२ अर्बले बढाउँदा कर्जा २९ अर्बले बढाएको हो ।