इतिहासकै ठूलो संकटबाट यसरी लयमा फर्कियो कुमारी बैंक

9.2k
Shares

काठमाडौं । विसं २०५७ सालमा १५औं वाणिज्य बैंकका रुपमा स्थापना भएको कुमारी बैंकले वितेका ३ वर्ष ठूलो संकट झेल्नुपर्यो । अर्थतन्त्रमा आएको सुस्तताले समग्र बैंकिङ क्षेत्र नै समस्यामा रहेका बेला कुमारीले औषतभन्दा बढी दबाब झेल्यो ।

विगतमा दिएको ऋण नउठ्दा त्यसका लागि मोटो रकम सम्भावित जोखिम व्यवस्थापनका लागि २०८२ बैशाख मसान्तमा आउँदा बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ छुट्याएको थियो । जुन रकम बैंकको चुक्ता पुँजीभन्दा बढी हो । २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी र ३४ अर्ब ९७ करोड रुपैयाँ कुल पुँजी रहेको बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ प्रोभिजन गरेपछि बैंक ६ अर्ब ७८ करोड ६२ लाख रुपैयाँले घाटामा गएको थियो ।

प्रोभिजनका कारण बैंकको पुँजीकोष तीब्र दबाबमा रह्यो । यसको अर्थ के हो भने बैंक थप ऋण लगानी गर्नै नसक्ने अवस्थामा पुग्यो । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण लिएको ऋण नतिर्नेहरु बढ्न थाले, जसले बैंकलाई संकटको बाटोमा अघि बढायो ।

बैंकको बढ्दो सञ्चित घाटाले लगानीकर्तालाई निराश मात्रै होइन, बैंकको भविष्य नै के होला भनेर चिन्तित बनाएको थियो । अफबाह फैलाउनेहरुले त कुमारी बैंक जुनसुकै दिन डुब्न सक्छसम्म भन्न भ्याए । तथ्यांकमा कमजोर भएपछि बैंकबारे नकारत्मक कुराकाट्नेहरु सक्रिय थिए ।

तर, आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दा कुमारी बैंकका अधिकांश सूचकहरु उत्साहप्रद रहे । २०८०/८१ को बाह्य लेखापरीक्षण प्रतिवेदनको तुलनामा २०८१/८२ को बाह्य लेखापरीक्षणअघिको नाफा ४५ हजार ८०० प्रतिशतले बढी हो । यद्यपि बाह्य लेखापरीक्षणपछि यो नाफामा भने फरक पर्न सक्छ ।

आफूहरुले कडाइका साथ प्रोभिजन गरेकाले यसपटक बाह्य लेखापरीक्षणअघि र पछिको नाफामा धेरै फरक नपर्नेमा विश्वस्त छन् बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल ।

‘नेपाल राष्ट्र बैंकको स्थलगत सुपरीवेक्षणमा आएको टोलीले दिएको निर्देशन अनुसार नै प्रोभिजन गरेकाले यस पटक अडिटेड र अनअडिटेड नाफामा खासै ठूलो फरक पर्ने अवस्था छैन,’ सीईओ खनालले भने ।

बैंकका सूचकांकहरुमा सुधार आएपछि सीईओको अनुहारमा चमक मात्रै देखिएको थिएन, बोलिमा आत्मविश्वास पनि बढेको प्रष्टै झल्किन्थ्यो ।

‘बैंकको सञ्चालक समिति र व्यवस्थापनको व्यवस्थापकीय रणनीति र कर्मचारीहरुको मिहेनतले यो सफलता हासिल भएको हो,’ सीईओ खनालले भने- ‘अर्थतन्त्रको अवस्थाले बैंकिङ क्षेत्रमा परेको असरका कारण बैंक बैंक ट्र्याकबाहिर जालाकि भन्ने धेरैको चासो र चिन्ता थियो, हामीले संयमित भएर ट्रयाकमा ल्याएका छौं । चालु आर्थिक वर्षको नाफाबाट अर्को वर्ष त सेयरधनीलाई लाभांश बाँड्छौं ।’

सञ्चित घाटामा उल्लेख्य सुधार आएसँगै पछिल्ला २ वर्ष झेल्दै आएको पुँजीकोषमाथिको दबाब बैंकले यो वर्ष झेल्नु पर्नेछैन । आव २०८१/८२ मा ८ अर्ब रुपैयाँले कर्जा घटाएको बैंकले यो वर्ष २० अर्ब रुपैयाँको हाराहारीमा कर्जा बढाउनसक्ने ठाउँ छ । चालु आबमा नाफा कमाउदै जाँदा कर्जा बढाउने स्पेश पनि बढ्दै जानेछ । जसले बैंकको आगामी दिनहरु सुनौला छन् भन्ने प्रष्ट संकेत गर्छ ।

पछिल्ला २ आर्थिक वर्षमा लगातार बढेको निष्क्रिय कर्जासँगै बक्यौता ब्याज पनि बढ्दा कुमारी बैंकको सञ्चित नोक्सानी बढेको थियो । बढेको सञ्चित नोक्सानीका कारण पुँजीकोषमा पनि समस्या हुँदा बैंकलाई व्यवसाय विस्तारमा समेत समस्या परेको थियो । २०८१ असार मसान्तमा नै २ खर्ब ६८ अर्ब ४३ करोड रुपैयाँ रहेको कुमारी बैंकको कर्जा लगानी २०८२ असार मसान्तमा घटेर २ खर्ब ६० अर्ब ९५ करोड रुपैयाँमा झरेको छ ।

पुँजीकोषको दबाब भएकै कारण गत आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय बढाएको कुमारी बैंकले त्यसपछिका ३ त्रैमासमा घटाउँदै लैजानुपर्ने अवस्था भयो । तर, गत आर्थिक वर्ष रिकभरीमा भएको सुधारले बैंकको पुँजीकोषको समस्या पनि समाधान भएको छ । प्राथमिक पुँजीकोष ८.५ प्रतिशत चाहिनेमा ८.९४ प्रतिशत पुगेको बैंकले सार्वजनिक गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा साविकको एनसीसी र कुमारी बैंक मर्जर भएर कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । दुई ठूला बैंकहरू मर्जर हुँदा त्यसले ल्याउने सिनर्जीले लगानीकर्ताले राम्रो प्रतिफल पाउने अपेक्षा थियो । तर, मर्जरमा गएर एकीकृत कारोबार सुरु गरेको वर्षबाट नै आर्थिक गतिविधिमा सुस्तता देखिँदा कर्जा असूलीमा दबाब पर्यो । त्यस्तै, मर्जरपछिको व्यवस्थापन केही चुनौतिपूर्ण हुँदा कुमारी बैंकले २ वर्ष केही समस्या झेल्नुपर्यो।

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरूलाई एकीकृत कारोबार सुरु गरेको मितिले २ वर्षसम्म निक्षेप र कर्जाको भारित औसत ब्याजदरबीचको अन्तर (स्प्रेड दर) मा १ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था गरेको थियो । अन्य बैंकले ४ प्रतिशत स्प्रेड कायम गर्दा पनि मर्जरमा गएका बैंकले २ वर्ष ५ प्रतिशतसम्म (निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर ) स्प्रेड कायम गर्न पाउने थिए।

त्यसले खुद ब्याज आम्दानी र नाफामा पनि लाभ पाउने अवस्था थियो । तर, मर्जरमा गएको वर्षमै कुमारी बैंकको ऋण असूली प्रभावित बन्न पुग्यो । सम्भावित कर्जा नोक्सानीबापत ८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ प्रोभिजन गर्नुपर्दा बैंकको नाफा ५१ करोड ७९ लाख २१ हजार रुपैयाँमात्रै भयो । अझै सोही आर्थिक वर्षबाट नै बैंक अव्यवहारिक कर नीतिले गर्दा नभएको नाफामा पनि कर तिर्नुपर्ने अवस्थामा पुग्यो।

आयकर ऐन २०५८ को दफा ५९ मा बैंक तथा वित्तीय संस्थाले सञ्चालन नाफाको ३० प्रतिशत मात्रै आयकर तिर्नुपर्ने व्यवस्था छ । तर, आयकर ऐनको दफा ५९(१क) मा बैंकहरूले लगानीमा रहेको कर्जा र गैरबैंकिङ सम्पत्ति बापत व्यवस्था गरिएको रकमको ५ प्रतिशतसम्मको रकमलाई मात्रै खर्च लेखांकन गर्न पाइने व्यवस्था छ । एकैवर्ष ८ अर्ब रुपैयाँभन्दा धेरै कर्जा नोक्सानी व्यवस्था गर्नुपर्दा बैंकको नोक्सानी व्यवस्था ५ प्रतिशतभन्दा माथि पुगेकोले ५ प्रतिशत माथिको प्रोभिजनमा खर्च लेखांकन गर्न पाएन । ९६ करोड सञ्चालन नाफा भएको बैंकले ४८ करोड रुपैयाँ आयकर तिरेको थियो । जसले गर्दा नाफा ५१ करोड रुपैयाँमा मात्रै सीमित भयो।

यता बक्यौता ब्याज उठाउन नसक्दा नाफा भए पनि नउठेको ब्याज नियामकीय जगेडामा ट्रान्सफर गर्दा बैंक सोही आर्थिक वर्षमा सञ्चित नोक्सानीमा पुग्यो । आर्थिक वर्ष २०७९/८० मा कुमारी बैंकले २ अर्ब २० करोड २९ लाख रुपैयाँले घाटा ब्यहोर्यो।

आर्थिक वर्ष २०८०/८१ मा पनि बैंकका लागि सकारात्मक हुन सकेन । मर्जरपछिको सुविधाले १ प्रतिशत थप स्प्रेड कायम गर्न पाउने भए पनि बैंकले व्यवसाय विस्तार गर्न नसक्दा खुद ब्याज आम्दानी नै घट्यो । यता मर्जरपछि बढेको एकीकृत कर्मचारी खर्च र निष्क्रिय कर्जासँगै थप गर्नुपरेको कर्जा नोक्सानी व्यवस्थाले गर्दा बैंकको सञ्चित घाटा उक्त वर्ष अझै बढेर ५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ पुग्यो।

लगानीमा रहेका कर्जा र गैरबैंकिङ सम्पत्ति बापत व्यवस्था गरिएको रकम करिब ३ खर्ब रुपैयाँ रहेको बैंकको ५ प्रतिशतसम्मको कर्जा नोक्सानी व्यवस्था रकमलाई मात्रै खर्च लेखांकन गर्न पाइने हुँदा करिब १५ अर्ब रुपैयाँसम्मको प्रोभिजन खर्च लेखांकन गर्न पाइन्छ । तर, त्यसअघिको वर्षदेखि नै बढेको प्रोभिजनले गर्दा कुमारी बैंकको कर्जा नोक्सानी व्यवस्था आर्थिक वर्ष २०८०/८१ मै करिब २२ अर्ब रुपैयाँमाथि पुग्यो।

लगानीमा रहेको कर्जा र गैरबैंकिङ सम्पत्ति बापत सम्भावित नोक्सानी भनेर छुट्याएको रकमको ५ प्रतिशतभन्दा माथिको रकमको ३० प्रतिशत आयकर बुझाउनु पर्यो । आव २०८०/८१ मा करिब ९७ करोड सञ्चालन नाफा रहेको बैंकले आयकर नै ९९ करोड तिरेको छ, जसले गर्दा उक्त वर्ष बैंकको नाफा ४६ करोड रुपैयाँमा सीमित हुन पुग्यो।

यसरी निष्क्रिय कर्जा बढेर गरिएको प्रोभिजनलाई खर्च देखाउन नपाएर त्यसको आयकर तिर्नुपर्दा बैंकको सञ्चित नोक्सानी थप बढ्दै गयो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पुग्दा बैंकको कर्जा नोक्सानी व्यवस्था बढेर २८ अर्ब रुपैयाँमाथि पुग्यो भने सञ्चित घाटा ६ अर्ब ५० करोड रुपैयाँसम्म पुगेको थियो । तर, गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने बेलासम्म बैंकको रिकभरीमा सुधार हुँदा सञ्चित घाटा घटेर ३ अर्ब रुपैयाँभन्दा तल झरेको छ।

आयकरको व्यवस्थाले गर्दा ५ प्रतिशतभन्दा बढीको कर्जा नोक्सानी व्यवस्थामा खर्च लेखांकन गर्न नपाउँदा आयकर तिरिसकेकाले चालु आर्थिक वर्षमा केही कर्जा रिकभरी हुँदा पनि बैंकले लाभांश बाँड्न सक्ने अवस्था हुने बैंकका सीईओ खनाल बताउँछन्।

‘२८ अर्ब पुगेको प्रोभिजन तेस्रो त्रैमासमा रिकभरीमा सुधार हुँदा २५ अर्ब रुपैयाँमा झरेको छ । ५ प्रतिशत प्रोभिजनको खर्च लेखांकन गर्न पाउँदा करिब १५ अर्ब प्रोभिजन खर्च लेखांकन गर्नुपर्ने हुन्छ । अर्थात् १० अर्ब रुपैयाँको हामीले आयकर तिरिसकेको छौं,’ खनालले भने, ‘गत आवको चौथो त्रैमासमा राम्रो रिकभरी भएको र चालु आर्थिक वर्षमा पनि रिकभरी हुने अपेक्षा छ । कर्जा रिकभरी भएर १ अर्ब रुपैयाँ प्रोभिजन राइटब्याक (फिर्ता) भए पनि त्यसमा आयकर तिर्नु पर्दैन । त्यसले चालु आर्थिक वर्ष हाम्रो लागि सकारात्मक छ।’

ब्याज नियमित हुन थालेपछि सकारात्मक प्रभाव

केही ठूला कर्पोरेटहरूले सम्पत्ति बिक्री गरेर पनि ऋण तिर्न थालेको खनाल बताउँछन् । बैंकले डेढ अर्ब रुपैयाँ लगानी गरेको भैरहवाको होटल पवन प्यालेस त्यहाँका व्यवसायी पवन हलुवाइले बिक्री गरेका छन् । नयाँ लगानीकर्ता सुवास अमात्यले बैंकको बक्यौता ब्याज तिर्दा बैंकको वित्तीय विवरणमा सकारात्मक प्रभाव देखियो । यस्तै, नेपालको ठूला व्यवसायमध्ये एक पोल्ट्री व्यवसायी गुणचन्द्र बिष्टले समेत सम्पत्ति बेच्न खोज्दा नसके पनि उनले पनि बैंकको ब्याज तिरेका छन् । दुर्गा प्रसाईंको मेडिकल कलेजको ऋणबाट केही ब्याज असुल भएको सीईओ खनाल बताउँछन्।

यस्तै, केही साना ऋणको धितो लिलामी पनि हुन लागेको र केही व्यवसायीले ब्याज तिर्दा रिकभरीमा सुधार देखिएको उनले बताए । ‘तेस्रो त्रैमासमा आउँदा हाम्रो बक्यौता ब्याज ११ अर्बबाट घटेर ९ अर्ब रुपैयाँमा झरेको छ । यो पनि अझै धेरै हो । चालु आर्थिक वर्षमा पनि रिकभरीमा फोकस गरेर अझै घटाउने प्रयास गर्छौं,’ खनालले भने, ‘गैरबैंकिङ सम्पत्ति ६० करोडले बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । त्यसलाई बेच्ने प्रयास पनि रहन्छ । रिकभरीमा सामान्य सुधार हुँदा पनि हाम्रो नाफामा सुधार भइहाल्छ।’

लाभांश नखाने सञ्चालक समितिको प्रतिवद्वताले व्यवस्थापनलाई कम दबाब

कतिपय बैंकको सञ्चालक समितिले आफूहरुलाई यति उति प्रतिशतको लाभांश चाहिन्छ भनेर व्यवस्थापनलाई दबाब दिन्छन् । सञ्चालकहरुकै दबाबमा व्यवस्थापनले सम्पत्तिको गुणस्तरमा ध्यान नदिँदा नेपालको बैंकिङ क्षेत्र बिग्रिएको हो । सञ्चालक समितिको दबाबमा परेका बैंकका सीईओ र उच्च व्यवस्थापनले असल बैंकिङ अभ्यासभन्दा पनि जागिर जोगाउन सञ्चालक समितिले दिएको टार्गेट पूरा गर्नेमा ध्यान केन्द्रत गर्दाको असर अहिले समग्र वित्तीय क्षेत्रले नै भोगिरहनु परेको छ, त्यसको असर अर्थतन्त्रमा समेत देखिएको छ ।

तर, कुमारी बैंकको सञ्चालक समितिले भने व्यवस्थापनलाई दबाब नहोस् भनेर ३ आर्थिक वर्ष लाभांश नबाँड्ने निर्णय नै गरेको थियो । उक्त ३ वर्ष गत आर्थिक वर्षबाट सकिएको छ । कुल लगानीको ५ प्रतिशतभन्दा बढीको प्रोभिजनलाई खर्च देखाउन नपाउने व्यवस्था अनुसार १० अर्ब रुपैयाँको आयकर तिर्नु नपरेको भए गत आर्थिक वर्षमै बैंकको सञ्चित नोक्सानी सकिने र चालु आर्थिक वर्षबाट बैंकले कमाएको नाफाले लाभांश बाँड्न कुनै समस्या हुने थिएन।

१० अर्ब ऋण बेच्यो, सस्तो निक्षेप बढ्यो

केही ऋणहरूमा समस्या आए पनि बैंकको सम्पत्तिको गुणस्तर खस्कने क्रम पिकमा पुगेर अब सुधार सुरु भएकोले यो आर्थिक वर्षबाट सञ्चित नोक्सानी सकेर लाभांश वितरण गर्ने लक्ष्य रहेको खनालले बताए । बैंकले आर्थिक वर्ष २०८१/८२ मा व्यवसाय बढाउन नसक्दा पनि खुद ब्याज आम्दानी बढाएको देखिन्छ । तर, बैंकले आर्थिक वर्षको अन्तिम त्रैमासमा करिब १० अर्ब रुपैयाँ बराबरको ऋण ३ बैंकलाई बिक्री गर्दा कर्जा घटेको देखिएको सीईओ खनाल बताउँछन्।

बैंकले हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र एनआईसी एशिया बैंकलाई १० अर्ब रुपैयाँ बराबरको कर्जा बेचेको छ । यस्तै, (करेन्ट, कल र बचत) निक्षेपको हिस्सा ३० प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको र महँगो लागतको मुद्दती निक्षेपको हिस्सा घटेको कारण ब्याज लागतमा पनि कमी आएको उनले बताए।

व्यवसाय बढाउन नसक्दा पनि बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी २७.४४ प्रतिशतले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब ६७ करोडबाट बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । निर्माण व्यवसायीको बैंक ग्यारेन्टी, एलसीलगायत सबै आम्दानीले गर्दा फि तथा कमिसन आम्दानी बढेको र निक्षेपको लागत घट्दा खुद ब्याज आम्दानी पनि बढेको खनालले बताए।

‘बैंकको व्यवस्थापकीय रणनीतिले निक्षेप ४१ अर्ब रुपैयाँले बढ्दा पनि खुद ब्याज आम्दानी बढेको छ,’ खनालले भने, ‘सीडी रेसियो ७५ प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षमा केही निक्षेप व्यवस्थापन र कर्जा लगानी बढाउँदै ८० प्रतिशत सीडी बनाउने रणनीति छ।’

रिकभरी फोकस र पुँजीकोषको दबाबले २ वर्ष कर्जा बढाउन समस्या भएको भन्दै उनले थपे, ‘तोकिएका क्षेत्रमा कर्जा नपुग्ने बैंकलाई कर्जा बेच्ने र नयाँ परियोजनामा लगानी गर्दा फि र कमिसन आम्दानी पनि बढेको छ । एग्रेसिभ व्यवसाय बढाउने रणनीति नहुँदा सेवाशुल्कमा पनि कम्प्रमाइज गरेका छैनौँ । जसले बैंकको आम्दानी बढाएको छ।’

सहज बन्यो पुँजीकोष, खुद निष्क्रिय कर्जा ०.६७ प्रतिशत

२०८१ असार मसान्तमा ७.७ प्रतिशत र २०८१ चैत मसान्तमा ७.३१ प्रतिशतमा झरेको बैंकको प्राथमिक पुँजीकोष अनुपात २०८२ असार मसान्तमा ८.९४ प्रतिशत पुगेको छ । यसले चालु आर्थिक वर्षमा बैंकलाई व्यवसाय बढाउन ठाउँ पनि दिएको छ । रिकभरीमा सामान्य सुधार हुँदा पनि प्राथमिक पुँजीकोष अझै सहज हुन्छ । कुल पुँजीकोष १२.९८ प्रतिशत रहेकोले बैंकलाई व्यवसाय विस्तार गर्न सहज बन्दै गएको छ।

बेस रेट घटेर ६.४४ प्रतिशतमा आएको छ । घटेको कर्जाको ब्याजदरमा विस्तारै ऋणको माग बढेमा ७५ प्रतिशतमा झरेको सीडी रेसियोले बैंकलाई थप सहज हुने देखिन्छ । अधिक तरलताले बढेको प्रतिस्पर्धाका कारण बैंकको स्प्रेड दर भने ३.५९ प्रतिशतमा झरेको छ । गत चैतको भन्दा निष्क्रिय कर्जा केही घटेर ६.४२ प्रतिशतमा झरेको छ । चैतमा ६.९८ प्रतिशत पुगेको थियो । खुद निष्क्रिय कर्जा ०.६७ प्रतिशत मात्रै छ । अघिल्लो आर्थिक वर्षमा १.३४ प्रतिशत रहेको खुद निष्क्रिय कर्जा प्रोभिजन बढेसँगै अझै घटेको छ । यसले बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था गरेको देखाउँछ।

बक्यौता ब्याज असुलीले घट्यो सञ्चित घाटा

बैंकले एक आर्थिक वर्षमै साढे २ अर्ब रुपैयाँभन्दा बढीले सञ्चित घाटा कम गरेको छ । २०८१ असारमा ५ अर्ब ३६ करोड पुगेको सञ्चित घाटा घटेर २ अर्ब ७९ करोडमा झरेको छ । नाफामा उल्लेखनीय सुधार र २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी बक्यौता ब्याज असुली गरी नियामकीय जगेडाबाट सञ्चित कोषमा फिर्ता हुँदा बैंकको सञ्चित घाटामा उल्लेख्य सुधार भएको हो ।

बैंकले गत आर्थिक वर्षमा मात्रै हेर्न हो भने २ अर्ब ५७ करोड वितरणयोग्य नाफा कमाएको छ । तर, अघिल्लो वर्षको सञ्चित घाटाले गर्दा लाभांश वितरण गर्न पाउने अवस्था छैन । बैंकले थप गैरबैंकिङ सम्पत्ति बुक गर्दा ३१ करोडभन्दा बढी नियामकीय जगेडामा ट्रान्सफर गरेको छ ।

प्रमुख सूचकआव २०८०/८१आव २०८१/८२
नाफा४६ लाख२ अर्ब ११ करोड ६४ लाख
सञ्चित घाटा५ अर्ब ३६ करोड ७४ लाख२ अर्ब ७९ करोड ४० लाख
खुद ब्याज आम्दानी१० अर्ब ८० करोड ३३ लाख११ अर्ब ५५ करोड ४३ लाख
खुद फि तथा कमिसन आम्दानी२ अर्ब ६७ करोड ३८ लाख२ अर्ब ९ करोड ८१ लाख
सञ्चालन नाफा९७ करोड ३९ लाख६ अर्ब १३ करोड ४४ लाख
कर्जा नोक्सानी व्यवस्था ६ अर्ब ८४ करोड १४ लाख २ अर्ब ७९ करोड ६२ लाख
आयकर३ अर्ब ६६ करोड ५० लाख९९ करोड ४४ लाख
प्रतिसेयर आम्दानी२ पैसा ८ रुपैयाँ ७ पैसा
प्रतिसेयर नेटवर्थ१४२ रुपैयाँ १९ पैसा१३२ रुपैयाँ ७१ पैसा