
काठमाडौँ । गोगोरो स्कुटरका लागि नेपालका आधिकारिक पार्टनर नेब्युला इनर्जीले नेपालमै पहिलोपटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउनुका साथै नेपाली बजारमा ब्रान्डको दीर्घकालीन प्रतिबद्धता दर्शाएको कम्पनीले जनाएको छ ।
यस योजनासँगै गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । कार्यक्रम साउन १९ गतेदेखि औपचारिक रूपमा लागू भएको हो। अब गोगोरोका स्मार्ट स्कुटर खरिद गर्ने ग्राहकहरूलाई कम्पनीले ५ वर्ष वा ४० हजार किलोमिटर अवधिभित्र १ लाख रुपैयाँको बाइब्याक भ्यालु ग्यारेन्टी दिनेछ।
विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्य चिन्ता ब्याट्रीको दीर्घायु हो, जुन बिग्रिँदै जाँदा सवारीको पुनः बिक्री मूल्य (रिसेल भ्यालु) घटाउने गर्दछ। तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिमार्फत गरेको छ।
परम्परागत ईभीहरूमा ब्याट्री सवारीधनीकै हुन्छ, तर गोगोरोमा ग्राहकले ब्याट्री किन्नुपर्दैन । बरु, गोगोरोले सञ्चालन गर्ने ब्याट्री स्वाप स्टेशनहरूबाट आवश्यक परेमा ब्याट्री साट्ने सुविधा पाउँछन्। यही सुविधाका कारण गोगोरो बाइब्याक ग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको हो, जसले नेपालको विद्युतीय सवारी बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको कम्पनीको दाबी छ ।
“गोगोरो नेपालको यातायातको भविष्य हो,” नेब्युला इनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने, “सुरुदेखि नै हामीले गरेको लगानीले हाम्रो प्रतिबद्धता देखाउँछ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेशनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सुरु गरेका थियौं। आज हामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”








प्रतिक्रिया