नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५

स्थापना भएको पहिलो वर्षमै नाइमाले अटो शो गरेर आफ्नो स्थापनाको औचित्य पुष्टि गर्‍यो: अर्थमन्त्री

196
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुलेको पहिलो वर्ष नै अटो एक्स्पो गरेर नाइमाले आफ्नो स्थापना पुष्टि गरेको बताएका छन् ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘स्थापना भएको छोटो समयमा नै नाइमाले अटो शो गरेर आफ्नो स्थापनाको औचित्य पुष्टि गरेको छ,’ मन्त्री पौडेलले भने, ‘आगामी दिनमा मोबिलिटी क्षेत्रलाई थप व्यवस्थित बनानका लागि सरकारले निरन्तर काम गरिरहेको छ ।’

उनले सडक पूर्वाधार निर्माणको काममा सरकार दृढ भएर अगाडि बढ्ने बताए । उनका अनुसार गुणस्तरीय सडकबिना कुनै पनि पूर्वाधारको प्रभावकारीता सम्भव छैन, त्यसैले सरकारले देशभरका सडकहरूलाई आधुनिक, स्तरीय र दिगो बनाउने अभियान अघि सारेको छ।

उनले पूर्वपश्चिम राजमार्ग अहिलेको आवश्यकता अनुसार पर्याप्त नभएको उल्लेख गर्दै काँकडभिट्टादेखि गड्डाचौकीसम्मको सडकलाई डेडिकेटेड फोरलेन वा सिक्स लेनको एक्सप्रेस सडकका रूपमा निर्माण गरिरहेको जानकारी दिए ।

‘वर्षौंदेखि परिकल्पना गरिँदै आएको हुलाकी सडकलाई पनि स्तरीय स्वरूपमा निर्माण भइरहेको र यो सरकारको प्राथमिक योजनामध्ये एक हो,’ मन्त्री पौडेलले भने, ‘सरकारद्वारा निर्माणाधीन मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, दक्षिणका सडकहरू, काठमाडौँको फास्ट ट्रयाक, सिता राजमार्ग, कोशी, कर्णाली, महाकाली करिडोर लगायतका परियोजनामा तीव्रगतिमा काम भइरहेको छ ।’