काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतबाट हुने वस्तुहरूको आयातमा २५ प्रतिशत भन्सार लगाउने निर्णयको घोषणा गरेका छन् । शुक्रवार अर्थात् अगस्ट १ बाट उक्त आयातकर लागू हुनेछ ।
त्यतिले मात्र नपुगेर ट्रम्पले भारतमाथि अतिरिक्त करको पनि घोषणा गरेका छन् । रुससँग सैन्य उपकरण र तेल किनिरहेको भएर भारतमाथि अतिरिक्त कर लगाइने ट्रम्पको तर्क छ ।
रुसका कट्टरविरोधी सिनेटर लिन्डसे ग्राहमको सल्लाह मानेर ट्रम्पले यो निर्णय गरेको स्पष्ट छ । ग्राहमले त रुससँग कारोबार गर्ने मुलुकको सामानमा ५०० प्रतिशत कर लगाउने प्रस्ताव समेत गरेका थिए ।
युक्रेन युद्ध रोक्नका लागि सफलता नपाएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग रिसाइरहेका ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा अपमानजनक पोस्ट गर्दै ‘भारत र रुसले आफ्ना मृत अर्थतन्त्रलाई सँगै डुबाए पनि आफूलाई मतलब नभएको’ लेखेका छन् । उनले रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभलाई पनि विचार गरेर बोल्न धम्की दिएका छन् ।
भारतले निकै चर्को भन्सार लगाउने गरेको र भारतसँग अमेरिकाले एकदमै कम व्यापार गरिरहेको दाबी पनि ट्रम्पले गरेका छन् । तर, ट्रम्पको यो दाबी असत्य छ ।
हेरौं भिडियोः







प्रतिक्रिया