
काठमाडौं । नेप्से बुल्स, गभर्नर लगायत मदिरा उत्पादन गर्ने सागर डिस्टिलरीले गत आर्थिक वर्षमा १८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले अघिल्लो आवको भन्दा २ करोड बढीले व्यापार बढाएको छ ।
यस हिसाबले सागर डिस्टिलरीको मासिक औसत व्यापार १ करोड ५० लाख र दैनिक व्यापार करिब ५ लाख रुपैयाँको मात्र छ ।
सन् २०२४ मा १७ करोड ७० लाख रुपैयाँको मदिरा विक्री गरेको सागर डिस्टिलरीले उल्लेखित दुईसहित ललिपप, रोयल ब्यु, ग्रे उल्फ, बेरिज एन्ड ब्लुज आदि मदिरा पनि उत्पादन तथा बिक्री गर्दै आएको छ । २०१४ मा स्थापित कम्पनी २०२३ मा पब्लिक लिमिटेड कम्पनी बनेको थियो । कम्पनीले उच्च गुणस्तरका भोड्का, ह्विस्की तथा जिन उत्पादन गर्छ भने उत्पादन क्षमता वार्षिक ५० लाख दिटर रहेको छ ।
सागर डिस्टिलरीमा आशुतोष खेतानको १४.५२, अल्का गोयलको १०.६३ तथा सन्दिप जालनको ९.१४ प्रतिशत सेयर हिस्सा रहेको छ । यसैगरी सौरभ करञ्जित कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् ।
२०२२ मा ६ करोड ६० लाखको मदिरा विक्री गरेको कम्पनीले २०२३ मा ९ करोड ४० लाखको व्यापार गरेको थियो । त्यसयता नेप्से बुल्स र गभर्नर ब्रान्डको मदिरा बजारमा ल्याएपछि कम्पनीको व्यापार दोब्बर बनेको हो । यसैगरी २०२५ मा भने कम्पनीले नाफा गर्न सफल भएको छ । कम्पनीले गत आवमा कुल बिक्रीको १.३५ प्रतिशत नाफा गरेको हो ।
यता २०२४ मा ४० लाखमात्र लगानी रहेको कम्पनीको कुल लगानी गत वर्ष करिब ४ करोड पुगेको छ ।
१४ लाख ५२ हजार कित्ता आईपीओ ल्याउने तयारीमा रहेको सागर डिस्टिलरीले त्यहाँबाट प्राप्त रकम माल्ट स्पिरिट आयात गर्दा लागेको ऋण तिर्ने योजना बनाएको छ । आईपीओका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिइएको छ ।







प्रतिक्रिया