पाकिस्तानमा अविरल वर्षाका कारण जनधनको क्षति, कम्तीमा ६३ जनाको मृत्यु

126
Shares

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा अविरल मुसलधारे वर्षा भएपछि कम्तीमा ६३ जनाको मृत्यु भएको छ । २९० जना घाइते भएका छन् ।

लगातार पानी परिरहेपछि भवनहरू भत्केका थिए र त्यसमा थिचिएर धेरैको ज्यान गएको थियो । अन्य कतिपय पानीमा डुबेर वा करेन्ट लागेर मरेको राष्ट्रिय विपत व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

रावलपिण्डी शहरले बिहीवार सार्वजनिक बिदाको घोषणा गरेको छ । सबैलाई घरैमा बस्न भनिएकोे छ । बाढी आएको नदी नजिक बस्ने मानिसहरूलाई अर्कै ठाउँमा जान आग्रह गरिएको छ ।

विगत तीन सातादेखि वर्षाका कारण १८० जनाको मृत्यु भइसकेको छ । तीमध्ये आधा जति बालबालिका थिए ।

पञ्जाबमा विभिन्न राजमार्गहरू बाढीका कारण बन्द भएका छन् । दर्जनौं उडानहरू स्थगित भएका छन् ।

यो साताभरि थप पानी पर्ने र बाढी आउने चेतावनी पञ्जाबका अधिकारीहरूले दिएका छन् । उद्धारकर्ताहरूलाई तयारी अवस्थामा बस्न भनिएको छ ।

लगभग २५ करोड जनसंख्या भएको पाकिस्तान जलवायु परिवर्तनको उच्च जोखिम भएको मुलुकमा पर्छ ।

त्यहाँ १३ हजारभन्दा बढी हिमनदीहरू छन् र ती द्रुत गतिमा पग्लिरहेका छन् ।