लाइबेरियाका राष्ट्रपतिले अंग्रेजी बोलेको सुनेर ट्रम्प चकित

3.6k
Shares

एजेन्सी । अफ्रिकी मुलुकहरूसँगको बैठकमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर आश्चर्य मानेका छन् ।

‘लाइबेरिया अमेरिकाको पुरानो मित्र हो र हामी अमेरिकालाई फेरि महान् बनाउने तपाईंको नीतिमा विश्वास गर्छौं,’ लाइबेरियाका राष्ट्रपति जोसेफ बोआकाईले भने, ‘यो अवसर दिनुभएकोमा हामी तपाईंलाई धन्यवाद दिन्छौं ।’

ट्रम्पलाई लाइबेरियामा अमेरिकी लगानीका लागि फकाउने क्रममा उनले अंग्रेजी भाषामा यो कुरा भनेका थिए ।

उनको कुरा सुनेर ट्रम्प प्रभावित भए र कहाँ भाषा सिक्नुभयो भनी सोधे ।

‘कति राम्रो अंग्रेजी, क्या सुन्दर,’ ट्रम्पले भने, ‘यति राम्रोसँग बोल्न कहाँबाट सिक्नुभयो ? तपाईंले कहाँ पढेको हो ?’

यो सुनेर बोआकाई मुस्काए । लाइबेरियाको आधिकारिक भाषा अंग्रेजी हो ।

‘लाइबेरियामै पढेको ?’ ट्रम्पले सोधे ।

‘हो, सर,’ बोआकाईले बताए ।

‘रमाइलो कुरा, कस्तो सुन्दर अंग्रेजी,’ ट्रम्पले भने, ‘मसँग यहाँ टेबलमा भएका मानिस यति राम्रोसँग बोल्न सक्दैनन् ।’

अन्य अफ्रिकी नेताहरूले दोभाषेमार्फत ट्रम्पसँग कुराकानी गरेका थिए ।

अमेरिकामा दासप्रथाबाट मुक्ति पाएका काला अमेरिकीहरूलाई राख्नका लागि लाइबेरिया देश सन् १८२२ मा बनेको थियो ।

मेरिकामा दासप्रथा अन्त्य भएपछि काला मानिसको भविष्यले समस्या ल्याउन सक्ने भन्दै गोरा अमेरिकीहरूले यो देश बनाउन पहल गरेका थिए ।

लाइबेरियाको आधिकारिक भाषा अंग्रेजी भए पनि त्यहाँ अनेकौं स्थानीय भाषाहरू बोलिन्छन् ।

ट्रम्पले बुधवार ह्वाइट हाउसमा लाइबेरियाका साथै गाबोन, गिनी–बिस्साउ, मौरिटेनिया र सेनेगलका नेताहरूसँग बैठक गरेका थिए । ती नेताहरूलाई उनले अमेरिका अब अफ्रिकालाई सहायता दिने भन्दा पनि उससँग व्यापार गर्न इच्छुक रहेको र चीनभन्दा अमेरिका बढी राम्रो साझेदार रहेको बताए ।

आफ्नो प्रशासन अफ्रिकामा मैत्री सम्बन्ध बलियो बनाउन प्रतिबद्ध रहेको बताउँदै ट्रम्पले भविष्यमा अफ्रिका भ्रमण गर्न चाहेको इच्छा व्यक्त गरे ।

अफ्रिकी नेताहरूले ट्रम्पलाई संसारभरि शान्ति सम्झौता गरेको भन्दै प्रशंसा गरे र उनले नोबेल पुरस्कार पाउनुपर्ने बताए ।