
एजेन्सी । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटीले सन् २०२६ देखि लागू हुने गरी भिसा इन्टिग्रिटी शुल्क लगाउने भएको छ ।
आप्रवास बाहेकका भिसा आवेदनका लागि यो शुल्क अनिवार्य गरिनेछ ।
फ्रागोमेन इमिग्रेशन कम्पनीले दिएको जानकारी अनुसार, भिसा आवेदन दिँदा थप २५० डलर तिर्नुपर्नेछ । अहिले लिइरहेको भिसा शुल्क बाहेक यो रकम तिर्नुपर्ने भएको हो ।
सन् २०२६ पछि यो शुल्कमा वार्षिक रूपमा वृद्धि गरिनेछ । कन्ज्युमर प्राइस इन्डेक्समा आधारित भई शुल्कमा वृद्धि हुनेछ ।
यो शुल्कमा कुनै छुट दिइने छैन । तर डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटीले भिसा रिफन्डका लागि विभिन्न शर्तहरू पूरा हुनुपर्ने जनाएको छ ।
भिसा पाएको व्यक्तिले अमेरिकामा अनुमतिविना काम नगरेको र भिसा अवधिभन्दा बढी नबसेको हुनुपर्छ । कुनै व्यक्तिले आई–९४ को म्याद सकिएको ५ दिनभित्र अमेरिका छोडिसकेको हुनुपर्छ । आई–९४ को म्याद सकिनुअघि कानूनी रूपमा म्याद बढाइएको वा स्थायी बसोवासको आवेदनमा कारवाही भइरहेको हुनुपर्नेछ ।
यी शर्तहरू पूरा भएमा भिसा शुल्क फिर्ता गरिनेछ । अन्यथा त्यो रकम अमेरिकी सरकारको खातामा जानेछ ।
यस नयाँ व्यवस्थाले विदेशी विद्यार्थी, प्रविधि क्षेत्रका पेशेवर व्यक्ति, पर्यटक र विदेशबाट दक्ष कामदार मगाउने रोजगारदाताहरूलाई असर गर्नेछ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेको नयाँ कर तथा खर्च कानूनमा यसको व्यवस्था गरिएको हो ।








प्रतिक्रिया