काठमाडौं टावरको निर्माण नरोक्न पाटन उच्च अदालतको अन्तरिम आदेश


काठमाडौं । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको निर्माण नरोक्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश खरेलको एकल इजलासले बुधबार काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

टावरको निर्माण रोक्ने काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध मनोजकुमार भेटवालको निर्माण कम्पनी स्वच्छन्द बिकोई बिल्डर्स उच्च अदालत पाटन गएको थियो । ९ माघ, २०८१ मा काठमाडौं महानगरपालिकाले पत्र पठाई काठमाडौं टावरको निर्माण रोक्न आदेश दिएको थियो ।

पाट उच्च अदालतको आदेशसँगै अब ठेकेदार कम्पनीलाई काठमाडौं टावरको निर्माण जारी राख्ने बाटो खुलेको हो ।

उच्च अदालतले निर्माण कम्पनीले तला थप्न महानगरबाट अनुमती लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृती लिँदाको दस्तुर समेत तिरिसकेको भन्दै निर्माण नरोक्न आदेश दिएको हो ।

भवन निर्माणलाई निरन्तरता दिनु उचित हुने र त्यसमा ठेकेदारको वैध अपेक्षा पनि रहने भन्दै उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

एकपक्षको सुनुवाईका आधारमा एक न्यायाधीशको इजलासले अन्तरिम आदेश दिएकाले काठमाडौं महानगरपालिकाले अन्तरिम आदेश खारेजको माग सहित अर्को निवेदन दिन पाउँछ ।

१२ तलाको निर्माण अनुमति रहेको टावरलाई १९ तलाको अनुमति दिएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईमाथि छानविन समिति बनाएका थिए । जसका कारण यो टावर थप विवादमा आएको हो ।