नेपाल-उत्तरप्रदेश व्यापार तथा लगानी प्रवर्द्धनका लागि निक्की र एसोचेमयुपीबीच सम्झौता

0
Shares

काठमाडौं । नेपाल र भारतबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई सुदृढ बनाउनको लागि नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) र भारतको उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यका उद्योग वाणिज्य संघ (एसोचेमयुपी)ले एक समझदारीपत्र -एमओयु_मा हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा निक्कीका अध्यक्ष सुनिल केसी र एसोसिएटेड चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रि उत्तर प्रदेश, उत्तराखण्डका अध्यक्ष ई डीपी सिंहले हस्ताक्षर गरे । यस समझदारीपत्र दुवै चेम्बरबीच व्यापार, कृषि, लगानी तथा सीमापार व्यवसाय प्रवर्द्धनका क्षेत्रमा सहकार्य संस्थागत गर्ने उद्देश्यले गरिएको निक्कीले जनाएको छ ।

समझदारीपत्रका अनुसार दुवै संस्थाले व्यापार प्रतिनिधिमण्डल आदानप्रदान, जानकारी साझा गर्ने, संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने जस्ता गतिविधि सँगसँगै अगाडि बढाउनेछन् । यसअन्तर्गत दुवै पक्षले एक अर्काको देशमा आयोजना हुने व्यापारिक भ्रमण, लगानी सम्मेलन, मेला तथा प्रदर्शनीमा व्यवसायिक प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समझदारीअनुसार, निक्की नेपालमा एसोचेमयूपीको साझेदार संस्था हुनेछ भने भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा एसोचेमयूपीले साझेदारको रुपमा काम गर्नेछ ।

सम्झौतापछि निक्की अध्यक्ष सुनिल केसीले भने, ‘यो साझेदारीले संयुक्त अध्ययन, बजार सर्वेक्षण, र परस्पर आर्थिक चासो भएका नयाँ क्षेत्र पहिचान गर्ने उद्देश्यका साथ प्रकाशन आदानप्रदान जस्ता पहलहरू पनि समेट्नेछ ।’

त्यस्तै, एसोचेमयूपीका अध्यक्ष ई डीपी सिंहले भने, ‘दुवै पक्षले व्यापार र लगानीसँग सम्बन्धित गैर गोप्य विवरण र प्रकाशनहरू नियमित रूपमा साझा गर्नेछन् ।’

सन् १९९३ मा प्रभाकर राणाको अगुवाइमा स्थापना भएको निक्की एक द्विपक्षीय, गैर नाफामुखी संस्था हो, जसले नेपाल र भारतबीचको व्यापार, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धनमा काम गर्दै आएको छ । यसले ऊर्जा, पर्यटन, पूर्वाधार, उद्योग लगायतका क्षेत्रहरूमा रणनीतिक साझेदारी र क्षेत्रगत सहकार्यलाई सहज बनाउँदै आएको छ ।

यो सम्झौता नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक अन्तरनिर्भरतालाई थप मजबुत बनाउने औपचारिक कदमको रुपमा रहेको छ । दुबै संस्थाले सीमापार व्यवसायले भोगिरहेका समस्याहरू समाधान गर्न र सम्भावनायुक्त क्षेत्रमा सहकार्य गर्न प्रतिबद्धता जनाएको पनि निक्कीको भनाइ छ ।

‘यस सम्झौतासँगै दुबै चेम्बरले द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्न सहकार्य गर्नेछन्, र सदस्यहरूले पनि यो अभियानमा सक्रिय सहभागिता जनाउनेछन्,’ निक्की अध्यक्ष केसीले बताए ।