बीवाईडी डल्फिनको अपडेटेड भर्सन नेपालमा, सोही मूल्यमा थपिए यस्ता फिचर


काठमाडौं । चीनीयाँ विद्युतीय सवारी ब्रान्ड बीवाईडी डल्फिनको अपडेटेड नयाँ भर्सन नेपालमा सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमकाबीच नेपालका लागि बीवाईडीको आधिकारीक वितरक साइमेक्स इंकले अपडेटेड नयाँ भर्सन नेपालमा सार्वजनिक गरेको हो ।

सार्वजनिक डल्फिनको नयाँ मोडल २०२५ मा ब्याट्री परिवर्तन भएर आएको छ । जसअनुसार यस गाडीमा १२ भोल्टको लिथियम आयोन ब्याट्री राखिएको छ । यस अघि भने यस गाडीमा १२ भोल्टको लिड एसिड ब्याट्री थियो ।

बीवाईडीले यस ब्याट्रीमा प्रयोग भएको १२ भोल्टको लिथियम आयोन ब्याट्रीको १५ वर्ष लाइफ रहने बताइएको छ । यो गाडीका प्रयोगकर्ताबाट आएका विभिन्न प्रतिक्रिया तथा सुझावलाई हेरेर अन्य सुरक्षा फिचर पनि परिवर्तन गरिएको जानकारी कम्पनीले दिएको छ ।

नयाँ भर्सनको गाडीमा बीवाईडी एप, मोवाइल फोन ब्लूटुथ सुविधा, मोवाइल फोन एनएफसी सुविधा, ब्राइटनेस धेरै भएको हेडलाइट जस्ता सुविधा थपिएको बताइएको छ । यस्तै, प्यासेन्जर डोर सुइज, सुधारिएको कुलिङ र हिटिङ एयर कण्डिसन पनि थप भएर आएको बताइएको छ ।

कम्पनीको फिचर परिस्कृत गरिएपनि मूल्य भने समान अर्थात् ४१ लाख १५ हजार रुपैयाँ नै तोकिएको छ । यस्तै, कार्यक्रममा कम्पनीले नेपालमा हालसम्म २ हजार ४९० बीवाईडी डल्फिन बिक्री गरेको जानकारी दिएको छ । यद्यपि, विश्वभर बीवाईडी डल्फिनको प्रयोगकर्ता संख्या भने ८ लाख ३० हजार युनिट पुगिसकेको छ ।

गाडी सार्वजनिक कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडीप्रति ग्राहकले देखाएको विश्वास देखेर खुसी लागेको बताइन् । ‘नेपालमा बीवाईडीले छोटो समयमा नै ग्राहकको धेरै मायाँ र विश्वास पाएको छ । यो विश्वासलाई कायम राख्नका लागि हामीले नयाँनयाँ प्रविधियुक्त प्रोडक्ट ल्याउँदै जाने छौं,’ श्रेष्ठले भनिन्, ‘ग्राहकको प्रतिक्रियाअनुसार हामीले निरन्तर काम गर्दै जाने छौं ।’

यस्तै, साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले केही वर्ष अगाडिबाट नेपालमा सुरु गरेको यात्राले छोटो समयमा राम्रो सफलता हासिल गरेको बताए । ‘केही वर्ष अगाडि मात्रै यहि नक्साल शोरुममा एउटा गाडी सार्वजनिक गर्दै हामीले आफ्नो यात्रा तय गरेका थियौं,’ श्रेष्ठले भने, ‘तर, अहिले हामीले नयाँनयाँ भेरियन्डका गाडीहरु उपलब्ध गराउँदै गएका छौं ।’ उनले ग्राहकको विश्वासलाई सँधै प्राथमिकतामा राख्दै अगाडि बढ्ने बताए ।