
काठमाडौं । भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको विमानमा एक जना यात्रु जीवितै उद्दार गरिएको छ । यसअघि विमानमा सवार सबै २४२ यात्रुको ज्यान गएको स्थानीय प्रशासनले पुष्टि गरे तापनि एक जना यात्रु जीवितै फेला परेका हुन् ।
भारतीय सञ्चारमाध्यम न्यूज१८ का अनुसार, अहमदाबाद प्रहरी प्रमुखले आफ्नो अघिल्लो अभिव्यक्ति सच्याउँदै भनेका छन्, ‘मेरो अघिल्लो भनाइ गलत रूपमा उद्धृत गरिएको थियो, एक जना व्यक्ति जीवित भेटिएका छन् । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।’
दुर्घटनाबाट बचेका ती व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश भएको जनाइएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।
भारतमा आफ्ना आफन्त भेट्न आएका विश्वास आफ्नो दाजु अजयकुमार रमेशसँगै बेलायत फर्किंदै थिए ।
एयर इण्डियाको विमान अहमदाबादबाट बेलायतको लन्डनस्थित ग्याटविक विमानस्थलतर्फ उडेको केही समयमै दुर्घटनामा परेको हो । विमानस्थल नजिकैको चिकित्सकहरूको आवासीय क्षेत्रमा खस्दा भवनमा रहेका मानिसहरू समेत गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार, दुर्घटनामा परेका अन्य यात्रुहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ । घटनास्थलबाट प्राप्त तस्वीर तथा भिडियोहरूमा विमानका भागहरू होस्टल भवन वरिपरि छरिएको देखिन्छ । केही तस्बिरहरूमा विमानको पुच्छर भवनको छतमा अड्किएको देखिन्छ ।
एयर इण्डियाका अनुसार, उक्त विमानमा ११ जना बालबालिकासहित कुल २४२ जना सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज तथा १ जना क्यानाडेली नागरिक थिए । रमेशबाहेक सबैको मृत्यु भएको बताइएको छ ।
भारतको अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलतर्फ उडेको एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो उडेको केही समयमै दुर्घटनामा परेको हो । विमानमा दुई जना पाइलट, १० जना केबिन क्रु सदस्यसहित जम्मा २४२ जना सवार थिए ।
भारतका केन्द्रीय गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेका छन् भने अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रूपमा पुनः सञ्चालनमा आइसकेको छ ।
अहमदाबाद सिभिल अस्पतालको ट्रमा सेन्टरमा दुर्घटनामा परी गम्भीर रूपमा जलेका शवहरू ल्याइएका छन् । धेरै शवहरू यति जलेका छन् कि पहिचान गर्न कठिन भएको अस्पताल स्रोतले जनाएको छ ।
यसैबीच टाटाले मृतकका परिवारलाई राहतस्वरूप १-१ करोड रूपैयाँ दिने बताएको छ । एयर इण्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान संख्या एआई१७१ एक दुर्घटनामा परेको छ । अहिले हामी थप विवरण संकलन गर्दैछौं र यथासिघ्र जानकारी दिनेछौं ।’ एयर इण्डियाले यात्रु र आफन्तका लागि समर्पित हेल्पलाइन नम्बर १८०० ५६९१ ४४४ सञ्चालनमा ल्याएको छ ।
एयर इण्डियाको स्वामित्वकर्ता टाटा समूहले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई १ करोड भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।
मेघानीनगरस्थित बीजे मेडिकल कलेज र सिभिल अस्पतालको छात्रावासमा एयर इण्डियाको विमान ठोक्किँदा ठूलो क्षति पुगेको छ । प्रारम्भिक रिपोर्टहरू अनुसार कम्तीमा २० जना मेडिकल विद्यार्थी घाइते भएका छन् ।
पीटीआई समाचार एजेन्सीले उद्धृत गरेको एक प्रत्यक्षदर्शीका अनुसार विमान छात्रावासको डाइनिङ हलमा खसेको थियो, जहाँ धेरै विद्यार्थी उपस्थित थिए । उनीहरू मध्ये धेरैजना घाइते भएका छन् र अस्पताल लगिएको छ । प्रत्यक्षदर्शी हरेश शाहका अनुसार त्यहाँ पाँच तल्ले आवासीय भवनहरू छन् । ती भवनहरूमा पनि आगलागी भएको थियो र भित्र रहेका धेरै मानिसहरू घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका सबैको उपचार गर्ने, भत्किएको मेडिकल होस्टेल बनाइदिने घोषणा टाटाको छ । सन् १९३२ मा टाटा ग्रुपले स्थापना गरेको एअर इन्डिया सन् १९५३ देखि भारत सरकारले चलाउँदै आएको थियो । त्यसको ७० वर्षपछि भारत सरकारले चलाउन नसकेर फेरि सन् २०२२ मा टाटा ग्रुपले एअर इन्डिया किनेको थियो ।








प्रतिक्रिया