विश्वका सबैभन्दा शक्तिशाली ट्रम्प र धनी एलन मस्कबीच किन एक अर्कालाई दिइरहेका छन् धम्की ?

553
Shares

एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धमा चिसोपन मात्र होइन, अहिले खुला टकराव देखिएको छ । सामाजिक सञ्जाल र सार्वजनिक वक्तव्यमार्फत दुवैले एकअर्कामाथि कडा आरोप लगाएका छन्, जसले अमेरिकी राजनीतिमा हलचल ल्याएको छ।

ट्रम्पको चेतावनी: मस्कलाई दिइने सरकारी सहायता कटौती

ट्रम्पले एलन मस्कको कम्पनी स्पेसएक्सलाई दिइने ठूलो सरकारी सब्सिडी र ठेक्का हटाउने धम्की दिएका छन् । उनले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्, ‘सरकारी खर्च घटाउन सबैभन्दा सजिलो उपाय भनेको एलन मस्कलाई दिइने अरबौं डलरको सब्सिडी र अनुबन्ध अन्त्य गर्नु हो ।’

स्पेसएक्स कम्पनी अमेरिकाको अन्तरिक्ष यात्रासँग सम्बन्धित विभिन्न परियोजनामा संलग्न छ र सरकारी सहयोग यसको मुख्य आधार हो । ट्रम्पको यस्तो भनाइले मस्कका व्यवसायिक फाइदामा प्रत्यक्ष असर पर्नेछ ।

ट्रम्पको यस्तो भनाइपछि एलन मस्क चुप लागेनन् । उनले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा ट्रम्पविरुद्ध कडा प्रतिक्रिया दिँदै उनलाई महाभियोगको माग गरे । उनले ट्रम्पको नाम यौन अपराधी जेफ्री एपस्टिनसँग जोडिएको फाइलमा रहेको दाबीसमेत गरे- यद्यपि यसको पुष्टि उनले गरेका छैनन्।

मस्कले भने, ‘उनीहरूले मेरो कम्पनीलाई फण्ड कम गरुन्, म त्यसको तयारीमा छु । म अन्तरिक्षयानको काम अझै तेज बनाउँदैछु ।’

टकरावले टेस्लामा असर

यो विवाद सुरु भएपछि मस्कको अर्को कम्पनी टेस्लाका सेयर मूल्यमा एकैदिन १४% ले गिरावट आएको छ । विशेषज्ञहरू भन्छन्, यस्तो खुला टकरावले लगानीकर्ताको विश्वास घटाएको छ।

पुरानो मित्रता, नयाँ दूरी

केही अघिसम्म एलन मस्क र ट्रम्पबीच राम्रो सम्बन्ध रहेको मानिन्थ्यो। मस्क ट्रम्पको प्रशासनमा एक ‘विशेष सरकारी कर्मचारी’को रूपमा समावेश समेत भएका थिए । तर पछिल्लो समय, विशेषगरी रिपब्लिकन पार्टीले इलेक्ट्रिक सवारीमा दिइने कर छुट हटाउने प्रयास गरेपछि मस्क र ट्रम्पबीच दूरी बढेको हो ।

मस्कले ट्रम्पविरुद्ध खुलेर विद्रोही रिपब्लिकन उम्मेदवारहरूलाई सहयोग गर्ने बताएका छन्, जसले आगामी राष्ट्रपति चुनावमा समेत असर गर्छ ।

यसबीच डेमोक्र्याटहरू भने यो टकरावबाट लाभ उठाउने स्थितिमा छन्। केही नेताहरू मस्कलाई पुनः डेमोक्र्याट समर्थकको रूपमा फर्काउने सोचमा छन्, तर बहुसंख्यक नेताहरू चुपचाप बसेर यो विवादलाई आफ्नो फाइदामा प्रयोग गरिरहेका छन्।

मस्कले आफ्नो ट्वीटमार्फत ट्रम्पलाई संकेत गर्दै भनेका छन्, ‘राष्ट्रपतिका रूपमा ट्रम्पसँग ३.५ वर्ष बाँकी होला, तर मसँग अझै ४० वर्ष बाँकी छन्।’

यसले देखाउँछ कि यो टकराव चाँडै टुंगिने सम्भावना छैन । बरु, आगामी महिना र चुनावी माहोलमा यो अझ चर्किने अपेक्षा गरिएको छ ।