हिलामी क्षेत्रका अधिकांश यार्सागुम्बा टिप्न गएपछि गाउँ रित्तो, विद्यालय बन्द

84
Shares

मुगु । देशको पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका गाउँबस्ती अहिले प्रायः सुनसान छन् । हिउँ पग्लिएपछि खुलेका नागी पाटनमा यार्सागुम्बा टिप्न सबैजसो स्थानीय गएकाले गाउँहरू रित्तो देखिन्छन् । गाउँमा अहिले अशक्त, सुत्केरी, बालबालिका र वृद्धवृद्धाबाहेक अरू भेटिँदैनन् ।

यार्सागुम्बा ती क्षेत्रका बासिन्दाका लागि मुख्य आम्दानीको स्रोत हो, जसले पारिवारिक अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दछ । मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो ।

पश्चिम उत्तरका हिमाली तथा उच्च पहाडी जिल्लाका स्थानीयहरू जेठको दोस्रो सातादेखि करिब एक महिनासम्म यार्सागुम्बा संकलन गर्न पाटनतिर लाग्ने गर्छन् । यस कार्यलाई स्थानीय भाषामा ‘किरा कोर्नु’ भनिन्छ । साना बालबालिकाहरूले पनि यसलाई यही नामले चिन्छन् ।

यार्सागुम्बाको सिजन सुरु भएसँगै विद्यालय बन्द छन् र गाउँ सुनसान छन् । आम्दानीको मुख्य स्रोत यार्सागुम्बा भएकाले करिब एक महिनासम्म गाउँहरू सुनसान हुन्छन् ।

मुगुका मुगुम कर्मारोङ गाउँपालिका–७ का स्थायी बासिन्दा तथा मांग्रीमा सामाजिक परिचालकका रूपमा कार्यरत ठिल्ले लामाका अनुसार, गाउँमा अहिले बालबालिका भएका महिला, बालबालिका र वृद्धवृद्धामात्र छन् ।

उनी भन्छन्, ‘यहाँको मुख्य आम्दानी यार्सागुम्बा हो । १०–१२ वर्षदेखि ५०–६० वर्षसम्मका मानिसहरू सबै यार्सा टिप्न गएका छन् । असार १३ गतेपछि मात्र गाउँ फर्किन्छन् । त्यसपछि टिप्न पाइँदैन । विद्यालयहरू बन्द छन् । शिक्षामा खासै चासो छैन । केही भर्ना भए पनि पछि निकालेर लैजान्छन् । गाउँमा खानेपानीको समस्या पनि छ ।’

त्यसैगरी, सानो बच्चा भएकाले गाउँमै रहेकी स्वास्थ्यकर्मी नुर्बूछिरिङ लामाले भनिन्, ‘पुरुषहरू सबै गइसके । गाउँमा साना बच्चाका आमाहरू र केही कर्मचारीमात्र छन् । आधा घरहरूमा त ताल्चा लागेको छ । यार्सागुम्बा र ज्यालामजदुरी नै आम्दानीका स्रोत हुन् ।’

नेपालको प्रमुख निर्यातयोग्य जडीबुटी

यार्सागुम्बा उच्च हिमाली क्षेत्रमा पाइने ढुसीको एक प्रजाति हो, जसलाई औषधिजन्य गुणका कारण बहुमूल्य जडीबुटी मानिन्छ । यसको प्रमुख बजार चीन हो ।

सिजनमा ९ वर्षभन्दा माथिदेखि ६० वर्ष उमेरसम्मका मानिसहरू यार्सागुम्बा टिप्न जाने गर्छन् । माग्री, छायला लगायत मुगुका अधिकांश गाउँहरू अहिले सुनसान छन् । केही विद्यालय मात्र सञ्चालनमा छन्, ती पनि प्राथमिक तहका बालबालिकाहरूले मात्रै भरिएका छन् ।

यस वर्ष जेठ १३ गतेदेखि यार्सागुम्बा संकलन खुला गरिएको हो । १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका धेरैजसो विद्यालय बन्द छन् र गाउँहरू रित्तो हुन थालेका छन् ।

राष्ट्रिय अर्थतन्त्रमा प्रभाव

नेपाल राष्ट्र बैंकले २०७२ सालमा गरेको एक अध्ययनअनुसार यार्सागुम्बाले हिमाली तथा उच्च पहाडी जिल्लाका बासिन्दाको सामाजिक–आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ ।

आर्थिक वर्ष २०७०/०७१ मा नेपालका ११ जिल्लाबाट करिब ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा संकलन गरिएको अनुमान गरिएको थियो । यो अध्ययन दार्चुला, डोल्पा, जुम्ला, बझाङ र मनाङ केन्द्रित थियो ।

पूर्वी नेपालमा अलैंचीजस्तै, पश्चिम नेपालमा यार्सागुम्बा पनि प्रमुख निर्यात हुने वनस्पति हो ।