
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने उद्देश्यअनुरुप बजेट आएको बताएका छन् । शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘मदिरा, वियर, वाइन जस्ता कुराको संख्यामा लाग्दै आएको करको दरलाई हामीले मूल्यमा आधारित बनाएका छौं,’ मन्त्री पौडेलले भने, ‘यसका अलावा, निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरणा मिलोस् र आयोजनाको लगानीमा सहजता मिलोस् भन्ने उद्देश्यले आगामी आर्थिक वर्षको बजेटमा त्यो किसिमका कुराहरु ल्याइएको छ ।’
बिहीबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका विषयमा जानकारी दिँदै अर्थमन्त्री पौडेलले भन्सारका विषयमा ग्रिन हाइड्रोजन, प्राकृतिक र प्राङगरिक मलको उद्योग र यसका लागि आवश्यक पर्ने मेसिन, उपकरणको आयातमा लाग्ने महसुलमा बजेटले छुट दिएको बताए ।
‘ग्रिन हाइड्रोजनको उत्पादन, इनोभेसन र विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले र लगानीकर्तालाई यसतर्फ आकर्षण गर्न सकियोस् भन्ने सोचेर बजेट आएको छ,’ पौडेलले भने ।
उनले अहिले नेपालसँग ठूलो मात्रामा काठ रहेको पनि बताए । यसर्थ, काठ उद्योग, खेलकुद पूर्वाधारसम्बन्धी उद्योग, विद्युत् चार्जिङ जस्ता उद्योगले आयात गर्ने सामाग्रीमा एक प्रतिशत मात्रै कर लाग्नेगरी प्रोत्साहन गरिएको उनको भनाइ छ ।








प्रतिक्रिया