
काठमाडौं । विभिन्न प्रकारका कपडा उत्पादन गर्ने तयारीसहित निर्माण भएको अथर्भ टेक्सटायल उद्योग आगामी महिनादेखि सञ्चालनमा आउने भएको छ । कटन, सेन्थेटिक र ब्लेन्डेड फ्याब्रिकका कपडाहरु उत्पादन गर्ने योजनामा साथ निर्माण भइरहेको उद्योग सन् २०२५ को जुनदेखि पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको हो ।
हाल कम्पनीले उद्योग निर्माण गरिरहेको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले ७५ करोड २० लाख रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याउने भएको छ । हाल उक्त उद्योगको ९८ प्रतिशत भौतिक कार्य सम्पन्न भएको छ भने ८७ प्रतिशत आर्थिक प्रगति भएको कम्पनीले जनाएको छ ।
कम्पनीले उद्योग निर्माणका लागि ६९ः३१ अनुपातमा लगानी गर्ने भएको छ । जसमा कम्पनीले ६९ प्रतिशत लगानी बैंकबाट कर्जा लिने भएको छ भने बाँकी ३१ प्रतिशत इक्विटीमार्फत् लगानी गरेको उल्लेख छ ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ७२ करोड १६ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ५२ करोड १६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीअनुसार उद्योग निर्माण शुरु हुनुभन्दा अघि ६४ करोड ५० लाख रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, उद्योग निर्माणका लागि आवश्यक कच्चा पदार्थमा मूल्यवृद्धि हुँदा लागत बढेको जनाएको छ ।
कम्पनीमा शम्भुकुमार चौधरी र मधु जैसवालको हिस्सा छ । कम्पनीले विभिन्न प्रकारका कपडा उत्पादन गर्न भारतबाट कच्चा पदार्थ आयात गर्ने जनाएको छ ।







प्रतिक्रिया