आईपीओको तयारीमा रहेको न्यूज २४ टिभीले ६ महिनामा गर्‍यो ३ करोड ८० लाखको व्यापार

861
Shares

काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने तयारीमा रहेको न्यूज २४ सञ्चालन गर्ने नेपाल ब्रोडकास्टिङ च्यानलले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा ११ करोड ४० लाख, २०२३ मा १० करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा १० करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीकाअनुसार सन् २०२० देखि २०२४ सम्ममा व्यापार १६ प्रतिशतले बढेको उल्लेख छ । सन् २०२३ मा ७ प्रतिशत नाफा कमाएको कम्पनीले सन् २०२४ मा १ प्रतिशत खुद नाफा कमाएको छ ।

सेयर निष्काशन गर्ने तयारीसहित नेपाल ब्रोडकास्टिङ सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । सन् २००७ मा स्थापना भएको कम्पनीमा अनिल जोशीको ५० प्रतिशत र बाँकी ५० प्रतिशत अन्य लगानीकर्ताको स्वामित्व छ । जोशीसँग १७ वर्षको सञ्चार क्षेत्रको अनुभव छ ।

न्यूज २४, २४ घण्टा प्रसारण हुने समाचार च्यानल हो जसले संसारभरका ४२ भन्दा बढी देशहरूमा समाचार सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

वेब पोर्टलमार्फत विश्वभर उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, कम्पनीको सामाजिक सञ्जाल प्लेटफर्महरूमा पनि उल्लेखनीय उपस्थिति रहेको र यो नेपालमा सबैभन्दा बढी हेरिने समाचार च्यानलहरूमध्ये एक रहेको कम्पनीको दाबी छ ।