
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी हिल्स प्रालिले भैंसेपाटीमा बनाइरहेको ‘सीजी प्रिमियम हिल्स’ का प्लटहरु गाभिँदा ४९ वटा मात्रै हाउजिङ बनाउने भएको छ । कम्पनीले यसअघि रेटिङ गराएर ५२ वटा हाउजिङ बनाउने भनिएकोमा अहिले प्लटहरु गाभिँदा ४९ वटा मात्रै बनाउने भएको हो ।
उक्त प्लटहरु गाभिँदा कुल निर्माण क्षेत्रफल घटेको छ । कम्पनीले भैंसेपाटीमा सुविधा सम्पन्न बंगला निर्माण गरिरहेको छ ।
चौधरी ग्रुपको ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले यसअघि काठमाडौं रेसिडेन्सी, माउन्ट भ्यू रेसिडेन्सी र हात्तीगौढामा सीपीहिल्स हाउजिङ निर्माण गरिसकेको छ ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले आयोजनाका निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ८५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले २०२५ को जगवरीसम्ममा आयोजनाको ७४ प्रतिशत आर्थिक प्रगति सम्पन्न गरेको जनाएको छ । यसअघि कम्पनीले रेटिङ गर्दा ५३ प्रतिशत आर्थिक प्रगति गरेको थियो । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीअनुसार सन् २०२५ को अप्रिलसम्ममा बुकिङको बिक्री योग्य जमिनको १५५ प्रतिशत क्षेत्रफलमध्ये ५३ प्रतिशत निर्माण क्षेत्रफल बुक भएको छ । जसमा कम्प्नीले ७३ प्रतिशत रकम संकलन गरेको छ । यसअघि गरेको रेटिङमा ५४ प्रतिशत निर्माण क्षेत्रफल बुक भई ४३ प्रतिशत रकम संकलन भएको थियो ।
कम्पनीको आर्थिक प्रगति देखिएपनि अन्य हाउजिङको बुकिङ भने हुन सकेको छैन । अघिल्लो रेटिङमा २६ वटा हाउजिङ बुकिङ भइसकेको उल्लेख गरेको थियो । हाल पनि सोही अवस्थामा रहेको कम्पनीको भनाइ छ । कम्पनीअनुसार अर्थतन्त्रमा देखिएको समस्याका कारण रियल इस्टेट क्षेत्र सुस्ताउँदा मागमा कमी आएको छ ।
बजारमा माग नहुँदा कम्पनीको बिक्रीमा प्रभाव परेको जनाइएको छ । कम्पनीले सुरुमा २०२४ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर मन्दीका कारण निर्माण ढिला हुँदा समय थपेर आयोजनाको निर्माण २०२४ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, अहिले पनि मागमा कमी आउँदा निर्माण समय लम्बिएको छ । कम्पनीले उक्त आयोजना सन् २०२५ को जुलाईसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
अहिले कम्पनीसँग २३ वटा हाउजिङ बिक्री हुन बाँकी छ ।
आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडक लगायतका भौतिक संरचना र भिआईपीहरूको जमघट हुने स्थानमा सीजीसँग जोडिदै आएका उपभोक्ताहरूलाई विशेष सेवा पुर्याउन यहाँ हाउजिङ परियोजना शुरू गरिएको हो ।
यहाँ चार प्रकारका घरहरू निर्माण हुनेछन् । करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका हुनेछन् । यी घरहरू ४ देखि १० आना क्षेत्रफलमा निर्माण हुनेछन् । नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाईनेछ।
कम्पनीले उक्त हाउजिङ परियोजनाभित्र स्वीमिङ पुल, बगैंचा, अन्डरग्राउन्ड तार, खाने पानीको सुविधासहित २४सैं घण्टा सुक्युरिटी र सीसी क्यामेराको सुविधा हुने जनाएको छ । कम्पनीका अनुसार उक्त घरमा उच्च गुणस्तरीय डण्डी, ईट्टा, छडलगायत अन्य निर्माण साम्रगीको प्रयोग भएको जनाएको छ ।








प्रतिक्रिया