पाकिस्तानको आक्रमणपछि फ्लडलाइट बन्द गरियो, १० ओभरपछि रोकियो आईपीएल

2.2k
Shares

एजेन्सी । हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा आज राति आयोजना गरिएको आईपीएल २०२५ को ५८औं खेल सुरक्षा कारणले रद्द गरिएको छ ।

पंजाब किंग्स र दिल्ली क्यापिटल्स बीचको यो महत्वपूर्ण भिडन्त पाकिस्तानसँगको तनावका कारण प्रभावित भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।

पञ्जाब किंग्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । ओपनर प्रियांश आर्याले ३४ बलमा ७० रनको आक्रामक पारी खेले भने प्रभसिमरन सिंहले २८ बलमा ५० रन बनाएका थिए । दसौं ओभरको अन्त्यमा स्कोर १२२/१ रहेको थियो । तर खेलको १०.१ ओभरपछि स्टेडियमको फ्लडलाइट बन्द गरिएको थियो । कतिपय स्थानमा पाकिस्तानले क्षेप्यात्र र ड्रोन आक्रमण गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अधिकारीहरूले फ्लडलाइट बन्द गरिनु र स्टेडियमको अन्धकारलाई “सुरक्षा कारण”सँग जोडेर खेल रद्द गरिएको बताएका छन् । सुरक्षा कारणले गर्दा दर्शकहरूलाई स्टेडियमबाट बाहिर जान आग्रह गरिएको थियो ।