मोदीको सैन्य कारबाही र शहबाजको ‘बदला’ नीति: के युद्ध तिर गइरहेछ दक्षिण एशिया ?

462
Shares

भारतले बुधबार पाकिस्तानमाथि सैन्य आक्रमण गरेको छ भने पाकिस्तानले पाँच भारतीय वायुसेना विमानहरू खसालेको दाबी गरेको छ, जसले दुई देशलाई व्यापक द्वन्द्वको सीमामा पुर्‍याएको छ।

यो तनावले भारत र पाकिस्तानलाई खतरनाक दिशातर्फ धकेलेको छ, इस्लामावादले भारतको आक्रमणको बदलामा जवाफी कारबाही गर्ने घोषणा गर्दैछ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेको छ ।

नयाँ दिल्लीका अनुसार यो आक्रमण अप्रिलमा भारत-प्रशासित कश्मीरको रमणीय पर्वतीय क्षेत्रमा बन्दुकधारीहरूले आक्रमण गर्दा एक नेपालीसहित २६ जनाको भारतीय पर्यटकको हत्या भएको घटनाको प्रतिक्रियास्वरूप गरिएको हो । भारतले उक्त आक्रमणका लागि पाकिस्तानलाई दोष दिएको छ, यद्यपि इस्लामावादले यो आरोप अस्वीकार गरेको छ ।

भारतको आक्रमण के हो?

भारतले ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही स्थानीय समय अनुसार बुधबार बिहान (मंगलबार राति) पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा आरम्भ गर्‍यो ।

भारतीय अधिकारीहरूले नौवटा स्थानहरू लक्षित गरिएको बताए पनि कुनै पनि पाकिस्तानी नागरिक, आर्थिक वा सैन्य संरचनामा आक्रमण नगरिएको दाबी गरेका छन् । उनीहरूले २५ मिनेटको यो कारबाही लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद नामक दुई आतंककारी समूहहरूको ‘आतंककारी’ विरुद्ध केन्द्रित भएको बताए ।

‘सिन्दुर’ शब्द हिन्दू महिलाहरूले विवाहपछि निधारमा लगाउने रातो रंगको सन्दर्भ हुन सक्छ । अप्रिलमा भएको पर्यटक हत्याकाण्डमा पुरुषहरूलाई लक्ष्य बनाइएको थियो, जसले धेरै भारतीय महिलालाई विधवा बनाएको थियो।

तर पाकिस्तानले भने यस कारबाहीलाई फरक रूपमा चित्रण गरेको छ । उसको भनाइमा आमनागरिकहरू मारिएका छन् र मस्जिदहरूमा प्रहार भएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले भने अनुसार २४ वटा आक्रमणमा ६ स्थानहरू प्रभावित भए । तीमध्ये केही पाकिस्तानको घना बस्ती भएको पंजाब प्रान्तमा परेका थिए । पाकिस्तानको सैन्य भनाइ अनुसार यो १९७१ यताको भारतद्वारा पाकिस्तानमाथिको सबैभन्दा ठूलो आक्रमण हो । त्यो वर्ष दुई देशबीच चौथो युद्ध भएको थियो ।

भारतीय तोपखानाले पाकिस्तान-प्रशासित कश्मीरमा नीलम नदीमा रहेको नोसरी बाँधको पानी आपूर्ति संरचनामा पनि प्रहार गरेको एक पाकिस्तानी सुरक्षा स्रोतले जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ ।

नीलम नदी भारत र पाकिस्तानमा लाखौं मानिसको जीविकोपार्जनमा महत्त्वपूर्ण इन्डस नदी प्रणालीको हिस्सा हो।

पाकिस्तानको जवाफ कस्तो रह्यो?

पाकिस्तानी सुरक्षा स्रोतहरूले भारतको आक्रमणको क्रममा पाँचवटा भारतीय वायुसेना जेट र एक ड्रोन खसालेको दाबी गरेका छन्।

तिनीहरूले ती विमानहरू कहाँ र कसरी खसालिएको हो भन्ने खुलाएनन्, तर तीनवटा राफाल जेट पनि तीमध्ये रहेको बताए । भारतले केही वर्ष अघि फ्रान्सबाट खरिद गरेका राफाल जेटहरू तिनीहरूको सैन्य श्रोतका रूपमा विशेष महत्व राख्छन् ।

एक वरिष्ठ पाकिस्तानी सुरक्षा स्रोतका अनुसार भारत र पाकिस्तानका लडाकु विमानहरूबीच भएको ‘डगफाइट’ हालको विमान इतिहासकै ‘सबैभन्दा ठूलो र लामो’ थियो ।

कुल १२५ वटा लडाकु विमानहरू एक घण्टा भन्दा बढी भिडे, तर दुवै पक्षले एक-अर्काको हवाई क्षेत्र पार नगर्ने नीति अपनाएको स्रोतले सीएनएनलाई बतायो । मिसाइल आक्रमणहरू १६० किलोमिटर (१०० माइल) भन्दा टाढाबाट पनि भइरहेका थिए।

दुवै पक्ष २०१९ को झडपको सम्झनाले सीमा पार गराएर पाइलट पठाउन तयार थिएनन् । त्यस बेला भारतको एक पाइलट पाकिस्तानमा खसेका थिए र टिभीमा देखाइएका थिए । त्यो अपमान दुबैतर्फबाट अहिले दोहोर्‍याउन चाहिएन ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बुधबार बेलुका भारतका जेटहरूलाई ‘ध्वस्त’ पारिएको दाबी गरे।

भारतले कुनै विमान हराएको पुष्टि गरेको छैन ।

एक प्रत्यक्षदर्शी र स्थानीय सरकारी अधिकारीले भारत-प्रशासित कश्मीरको वुयान गाउँमा एक पहिचान नभएको विमान खसेको बताएका छन् । एपीएफ समाचार एजेन्सीले प्रकाशित गरेका तस्बिरहरूमा एउटा इँटाको भवनको छेउमा विमानको भग्नावशेष देखिएको छ ।

यी तस्बिरबाट विमान कसको हो भन्ने तत्काल स्पष्ट भएको छैन।

शरीफले बुधबार देशको ‘हरेक अधिकार’ रहेको भन्दै भारतको कदमलाई ‘युद्धको घोषणा’ भने।

शरीफले बुधबारको आपतकालीन राष्ट्रिय सुरक्षा समिति बैठकपछि पाकिस्तानको सशस्त्र फौजलाई पाकिस्तानीहरूको मृत्युको बदला लिन आह्वान गरे।

कति जनाको मृत्यु भयो?

पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ, भने ५७ जना घाइते भएका छन्, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरीले बुधबार राति जानकारी दिएका छन् ।

चौधरीका अनुसार मृतकमध्ये किशोर र बालबालिका पनि छन्– सबैभन्दा सानो तीन वर्षको थियो ।

भारतीय पक्षका एक वरिष्ठ रक्षा स्रोतले सीएनएनलाई बताएका अनुसार भारत-प्रशासित कश्मीरमा पाकिस्तानबाट भएको गोलाबारीमा १२ जना नागरिक मारिएका छन् र ५७ जना घाइते भएका छन् ।

के भइरहेको छ?

बुधबार दुई पक्षबीच कश्मीरको वास्तविक नियन्त्रण रेखामा तोप र गोली हानाहान भएको छ ।

भारत-प्रशासित कश्मीरका अधिकारीहरूले खतरा रहेका क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न आदेश दिएका छन् र बसोबास, खाना र औषधीको व्यवस्था गरिने बताएका छन् ।

यस कारबाहीले हवाई उडानहरू पनि प्रभावित भएका छन् । पाकिस्तानले आफ्नो आकाश क्षेत्रको केही हिस्सा बन्द गरेको छ । धेरैजसो अन्तर्राष्ट्रिय विमानहरूले पाकिस्तानमाथि उडान नगर्ने निर्णय लिएका छन् भने भारतका केही विमान सेवाहरूले उत्तरी भारतमा हवाई अड्डाहरू बन्द गरेका छन्।

यो सबै किन सुरु भयो ? कश्मीर के हो ?

मुस्लिम बहुल कश्मीर भारत र पाकिस्तानबीच सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रतापछि निरन्तर तनावको बिन्दु रहँदै आएको छ।

ब्रिटिश भारतको विभाजनपछि बनेका दुई देश–हिन्दू बहुल भारत र मुस्लिम बहुल पाकिस्तान दुवैले कश्मीरलाई आफ्नो भनेर दाबी गर्छन् र स्वतन्त्रता पाएको केही महिनामै उनीहरूले उक्त भूभागको लागि पहिलो युद्ध लडे ।

हाल विभाजित कश्मीर क्षेत्र विश्वकै सबैभन्दा सैन्यीकृत क्षेत्रहरूमध्ये एक हो ।

भारतले लामो समयदेखि पाकिस्तानमाथि कश्मीरमा आतंककारी समूहहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । उनीहरुले आफ्नो देशमा आक्रमण गर्ने गरेको भारतको आरोपछ । पाकिस्तानले यस आरोपलाई अस्वीकार गर्दै आएको छ ।

अप्रिलमा भएको पहलगाम हत्याकाण्डले भारतभर आक्रोश फैलायो र प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारमाथि दबाब सिर्जना गर्‍यो।

भारतले तुरुन्तै पाकिस्तानलाई दोष दिँदै दुई देशबीचको सम्बन्ध घटायो, एकअर्काका नागरिकहरूका लागि भिसा रद्द गर्‍यो र एक महत्वपूर्ण जल सम्झौताबाट बाहिरिएको घोषणा गर्‍यो ।

कश्मीरका लागि भएका अघिल्ला तीन युद्धहरू रगतपातपूर्ण थिए; १९९९ को अन्तिम युद्धमा कम्तिमा एक हजारभन्दा बढी पाकिस्तानी सैनिक मरेका थिए ।

त्यसपछि दशकौंसम्म आतङ्ककारी समूहहरूले भारतीय सुरक्षाबलसँग संघर्ष गर्दै आएका छन् । जसमा हजारौंको ज्यान गएको छ । भारत र पाकिस्तानबीच २०१९ मा सबैभन्दा पछिल्लो भिडन्त भयो । जब भारतले आत्मघाती कारबम आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै हवाई आक्रमण गरेको थियो ।

तर यी पछिल्ला झडपहरूले पूरै युद्धको रूप लिएका थिएनन् । दुवै पक्ष खतरा बुझ्दछन्; १९९९ यताका दशकमा उनीहरूले आफ्नो सैन्य शक्ति – परमाणु हतियारसमेत विस्तार गरेका छन् ।

विश्व समुदायको प्रतिक्रिया के छ?

यी आक्रमणहरूले विश्वमा चासो र चिन्ता बढाएका छन् र दुई देशलाई अझ तनाव बढ्न नदिई संयमता अपनाउन आग्रह गरिएको छ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले भारतको आक्रमणप्रति ‘गहिरो चिन्ता’ व्यक्त गर्दै भनेका छन् कि विश्वले भारत–पाकिस्तानबीच ‘सैन्य संघर्ष सहन सक्दैन।’

संयुक्त राज्य अमेरिकाले अघिल्लो साता दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको थियो ‘स्थिति नजिकबाट हेरिरहेको’ बताएको छ।

विदेश मन्त्रालयका प्रवक्ताले मंगलबार भने, ‘हामीलाई घटनाको जानकारी छ, तर अहिलेका लागि कुनै मूल्याङ्कन गर्न सक्ने अवस्थामा छैनौं।’ ‘यो अझै विकसित भइरहेको स्थिति हो र हामी नजिकबाट निगरानी गरिरहेका छौं।’

संयुक्त अरब इमिरेट्स, चीन र जापानले पनि दुवै पक्षलाई तनाव घटाउन आह्वान गरेका छन् ।

पाकिस्तानी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईले पनि दुबै देशलाई तनाव नबढाउन आग्रह गरेकी छन्।

‘घृणा र हिंसा हाम्रो साझा शत्रु हुन्, हामी एकअर्का होइनौं,’ उनले एक्स (पूर्व ट्विटर) मा लेखेकी छन्। ‘म भारत र पाकिस्तानका नेताहरूलाई आग्रह गर्छु, तनाव घटाउने, सर्वसाधारण विशेषगरी बालबालिकालाई सुरक्षा दिने, र विघटनको शक्तिको विरुद्धमा एकता कायम गर्न कदम चाल्न ।’

‘चिन्ताजनक विकासक्रम’

भारतले गरेको आक्रमण सन् १९७१ मा दुई देशबीच भएको पूर्ण युद्धपछिको सबैभन्दा ठूलो सैन्य कारबाही हो । त्यो समय जब भारत र पाकिस्तानसँग अहिलेझैं आणविक हतियार थिएनन् ।

भारतका मिसाइलले प्रहार गरेका छवटा स्थानमध्ये दुईवटा पाकिस्तान प्रशासित कश्मीरका शहरहरू मुजफ्फराबाद र कोटली हुन् । कश्मीर क्षेत्र जुन विश्वकै सबैभन्दा सैन्यीकृत क्षेत्रहरूमध्ये एक हो भारत र पाकिस्तान दुवैले पूर्ण रूपमा दाबी गर्ने तर आ-आफ्नो भागमा शासित क्षेत्र हो र यी दुवै देशले कश्मीरलाई लिएर तीनवटा युद्ध लडिसकेका छन् ।

तर भारतले आक्रमण गरेका अन्य चार स्थानहरू पाकिस्तानको पञ्जाब प्रान्तमा छन् । बहावलपुर, मुरिदके, सियालकोट र शाकरगढ । तीमध्ये बहावलपुर पाकिस्तानको दक्षिणी पञ्जाबमा पर्दछ, जुन थार मरुभूमिसँग जोडिएको छ भने मुरिदके लाहोरको छेउमा पर्छ, जुन पाकिस्तानको दोस्रो ठूलो शहर हो र जहाँ १ करोड ४० लाख जनसंख्या बसोबास गर्छ ।

पाकिस्तानको झण्डै ६० प्रतिशत जनसंख्या रहेको र आर्थिक केन्द्र पञ्जाबमा भारतले १९७१ यता यस्तो आक्रमण गरेको थिएन ।

त्यसयता भारतले गरेको हवाई आक्रमणहरू सामान्यतः पाकिस्तान प्रशासित कश्मीर वा पाकिस्तानका दुर्गम क्षेत्रहरूमा केन्द्रित थिए । उदाहरणका लागि, ६ वर्षअघि भारतीय लडाकु विमानले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बालाकोटमा मिसाइल प्रहार गरेका थिए । जब एक आत्मघाती आक्रमणमा भारत प्रशासित कश्मीरमा कम्तीमा ४० जना अर्धसैनिक बलका जवान मारिएका थिए ।

तर २०२५ मे ७ को आक्रमण फरक छ । मुरिदके नजिकको लाहोर भारतको सिमानाबाट निकै नजिक पर्छ र पाकिस्तानको दोस्रो सबैभन्दा जनघनत्व भएको शहर भको दक्षिण एसियामा राष्ट्रवाद र द्वन्द्वसम्बन्धी अध्ययन गर्ने भारतीय राजनीतिक विज्ञ सुमन्त्र बोसले बताएका छन् । दक्षिण पञ्जाबको प्रमुख शहर बहावलपुर पनि यस्तै संवेदनशील स्थान हो ।

भारत सरकारका अनुसार उसले ‘आतंकवादी संरचनाहरू’ मात्र लक्षित गरी रणनीतिक रूपमा आक्रमण गरेको हो । भारतीय सेनाले एक्स (पूर्व ट्विटर) मा लेख्यो, ‘न्याय दिलाइएको छ ।’

तर बोसले भने यी आक्रमणहरू ‘निकै चिन्ताजनक विकास’ भएको बताए ।

‘सर्जिकल स्ट्राइकजस्ता लक्षित प्रहार भए पनि वास्तविकता के हो भने यी ठूला विस्फोटहरू पाकिस्तानका प्रमुख जनघनत्व भएका क्षेत्रहरूमा भएका हुन्,’ उनले भने, ‘यो वास्तविक पाकिस्तान हो, पाकिस्तान प्रशासित कश्मीर होइन ।’

मोदीका लागि ‘घरेलु लाभ’

पाहलगाम आक्रमण भएको दुई दिनपछि मोदीले चुनावको तयारीमा रहेको बिहार राज्यमा भएको एक र्‍यालीमा सम्बोधन गर्दै आफ्नो सरकारले ‘प्रत्येक आतंकवादी र तिनीहरूका सहयोगीहरूलाई पहिचान गरी, पत्ता लगाई, सजाय दिने’ बताएका थिए र उनीहरूलाई ‘पृथ्वीको अन्त्यसम्म पनि पछ्याउने’ प्रतिवद्धता जनाएका थिए ।

पाहलगाम आक्रमणपछि भारतले पाकिस्तानको जल सुरक्षा सुनिश्चित गर्ने इन्डस वाटर ट्रीटी (सिन्धु जल सन्धि) मा सहभागिता निलम्बन गर्यो । इस्लामाबादले अघिल्ला शान्ति सम्झौता तोड्ने चेतावनी दिएको छ । दुबै देशले एकअर्काका कूटनीतिज्ञ, सैन्य प्रतिनिधि र सयौँ नागरिकहरूलाई पनि देशनिकाला गरेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार भारतमा मोदी सरकारमाथि पाकिस्तानमाथि सैन्य कारबाहीको घरेलु दबाब बढिरहेको थियो ।

‘मोदीमाथि बलपूर्वक जवाफ दिनुपर्ने उच्च दबाब थियो,’ वाशिङटन डीसीस्थित विल्सन सेन्टरका दक्षिण एशिया संस्थानका निर्देशक माइकल कुगेलम्यानले बताए । ‘मोदीले आफूलाई एक दृढ, आत्मविश्वासी, निर्णायक र आतंकवादविरुद्ध कडा रूपमा प्रतिकार गर्ने प्रशासकका रूपमा प्रस्तुत गर्दै आएका छन्, त्यसैले उनको सरकारबाट सैन्य प्रतिक्रिया नआउनु कल्पनै गर्न नसकिने कुरा हुन्थ्यो ।’

नयाँ दिल्लीका राजनीतिक विश्लेषक राशिद किद्वाइका अनुसार पाहलगाम आक्रमणले भारतीय जनमानसमा भावनात्मक रूपमा आक्रोश उत्पन्न गराएको थियो र त्यसका योजनाकार तथा सहयोगीहरूलाई दण्ड दिनुपर्छ भन्ने भावना बलियो भएको थियो । ‘भारतले सटीक तरिकाले प्रतिकार गरिरहेको छ,’ किद्वाइले भने ।

इन्टरनेशनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण दोन्तीका अनुसार मे ७ मा भारतले गरेको मिसाइल आक्रमण पाहलगाम घटनापछि नयाँ दिल्लीले बनाएको रणनीतिअनुसार नै भएको हो ।

कुगेलम्यान र किद्वाइजस्तै, दोन्तीले पनि मोदी सरकारले देशभित्र बनाएको आफ्नो छविको उल्लेख गरे । ‘यो क्षण भारतले आफूलाई एक बलियो सुरक्षा राज्यका रूपमा प्रस्तुत गर्न खोजेको अवधारणा र मोदीको ‘स्ट्रङ म्यान’ छविसँग मेल खान्छ । यो स्वयं भारत सरकारले बनाएको एउटा परीक्षा थियो, जसमा उसले पास हुनैपर्थ्यो,’ उनले अल जजिरासँग भने । ‘यसबाट मोदी सरकारलाई निश्चित रूपमा घरेलु फाइदा हुनेछ ।’

तर, दोन्तीले भारतले पाकिस्तानमा गरेको आक्रमणले ‘भविष्यमा जोखिम निम्त्याउने संकेत’ पनि दिएको बताए ।

कुगेलम्यानले सहमति जनाउँदै बुधबार भएका मिसाइल आक्रमणहरूलाई ‘अघिल्लो केही वर्षयताकै सबैभन्दा तीव्र भारतीय सैन्य कारबाही’ भने ।

अब के हुन्छ ?

पाकिस्तानमा अधिकारीहरूले भारतको यो कारबाहीलाई ‘युद्धको कार्य’ भनेका छन् र बदला लिने वाचा गरेका छन् । यसबीच, कुगेलम्यानका अनुसार यो अवस्थाले पाकिस्तानको सैन्य नेतृत्वलाई पनि फाइदा पुग्छ ।

‘यी आक्रमणहरूले वास्तवमा पाकिस्तानको वर्तमान शासनलाई थप सुदृढ बनाउनेछ, किनभने सैन्य नेतृत्वले यसलाई जनतालाई आफ्नो वरिपरि गोलबन्द गराउन प्रयोग गर्न सक्छ,’ उनले भने, ‘पाकिस्तानी सेनाले सधैं भारतबाट आएको खतराबाट देशलाई जोगाउनुपर्ने अवधारणाबाट आफ्नो वैधता कायम गर्दै आएको छ । त्यसैले हामी पाकिस्तानमा राष्ट्रवादी भावना बढेको देख्न सक्छौं ।’

भारतको आक्रमणपछिबाटै दुबै देशका सेनाहरूबीच कश्मीरको विवादित सीमामा तोपगोलाबारी र गोली हानाहान भइरहेको छ।

कुगेलम्यानका अनुसार, ‘दुबै देशसँग आणविक हतियार रहेको अवस्थामा सैन्य तनाव चर्किने सम्भावना निकै उच्च छ ।’

‘जति धेरै पारम्परिक सैन्य बल प्रयोग गरिन्छ आणविक हतियारको छायामा, त्यति नै बढी जोखिम हुन्छ कि त्यो तनाव आणविक स्तरसम्म पुग्न सक्छ ।’ हामी त्यो अवस्थामा अझै पुगेका छैनौं,’ उनले भने, ‘तर जोखिम निकै उच्च छ ।’