
एजेन्सी । मध्य रातमा भारतले पाकिस्तानका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको छ । भारतीय सशस्त्र बलले बुधबार ‘अप्रेसन सिन्दूर’ सुरु गरेको जनाएको छ, जसअन्तर्गत पाकिस्तान र पाकिस्तानको जम्मु-कश्मीरका विभिन्न स्थानमा प्रहार गरिएको छ । आतंककारी पूर्वाधारहरूमा प्रहार गरिएको भारत सरकारको दाबी छ । ‘पाकिस्तानी सैन्य पूर्वाधारहरूलाई लक्ष्य बनाइएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।
भारतको रक्षा मन्त्रालयले एक्स (पूर्व ट्विटर) मा भनेको छ, ‘पाकिस्तान र पाकिस्तान-अधिकृत जम्मु-कश्मीरमा रहेका नौवटा आतंककारी पूर्वाधार स्थलहरूमा केन्द्रित हमला गरिएको छ, जसले सीमापार आतङ्क योजनाका जरा उखेलेको छ।’
यसबीच, पाकिस्तानी सेनाले पुन्छ र राजौरी जिल्लामा नियन्त्रण रेखा (एलओसी) नजिकका गाउँहरूमा ठूलो मोर्टार आक्रमण सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । पुन्छ जिल्लाको कृष्णा घाटी, शाहपुर र मनकोट र राजौरी जिल्लाको लाम, मन्जाकोट र गम्बीर ब्राह्मणामा गोला बारी गरिएको छ।
अप्रेसन सिन्दूर अन्तर्गत भारतको उत्तरी भागहरूमा व्यावसायिक हवाई उडानहरू निलम्बन गरिएको छ । संघीय गृह सचिव गोविन्द मोहनले मंगलबार नागरिक सुरक्षा संयन्त्र सुदृढीकरणका तयारीहरूको समीक्षा गरेका छन्, जसमा हवाई आक्रमण चेतावनी साइरनको पूर्वाभ्यास, नागरिकहरूलाई ‘शत्रुपक्षको आक्रमण’ को अवस्थामा आफूलाई कसरी सुरक्षित राख्ने भन्ने तालिम र बंकर तथा खाल्डाहरू सफा गर्ने काम समावेश छ।
पाकिस्तानको सरकारी टेलिभिजनमा सेनाका प्रवक्ताले भारतीय सेनाले पाकिस्तानको तीन स्थानमा मिसाइल आक्रमण गरेको जनाएका छन् ।
भारत र पाकिस्तानबीच २२ अप्रिलमा जम्मू-कश्मीरको पहलगाममा पर्यटकमाथि हमला भएपछि अवस्था तनावपूर्ण भएको छ । यस घटनामा २६ जना मारिएका थिए ।
पाकिस्तानले के भन्यो ?
भारतको आक्रमणबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको प्रतिक्रिया सार्वजनिक भएको छ ।
शहबाज शरीफले भारतका मिसाइल आक्रमणप्रति प्रतिक्रिया दिँदै पाकिस्तानलाई जवाफी कारबाही गर्ने पूर्ण अधिकार भएको बताएका छन् ।
शहबाज शरीफले सामाजिक सञ्जाल साइट एक्समा लेखेका छन्, ‘शत्रुले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्ण आक्रमणहरू गरेका छन् ।’
उनीहरूले भारतको यो आक्रमणलाई ‘युद्धको कार्य’ भनेका छन्।
शहबाज शरीफले आफ्नो पोस्टमा थप लेखेका छन्, ‘पाकिस्तानलाई भारतको यस युद्धको कार्यको कडा जवाफ दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ ।’
उनले पाकिस्तानका सम्पूर्ण जनताहरू पाकिस्तानी सेनासँग एकजुट छन् र देशको मनोबल मजबुत भएको जनाएका छन् ।
पाकिस्तानका प्रधानमन्त्रीले भने, ‘पाकिस्तान र पाकिस्तानी सेनालाई राम्रोसँग थाहा छ कि शत्रुहरूसँग कसरी सामना गर्ने । हामी कहिल्यै पनि शत्रुलाई उसका नियतहरूमा सफल हुन दिने छैनौं ।’
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बीबीसी उर्दूसँग भनेका छन्, ‘उनीहरू (भारत) दाबी गर्दैछन् कि उनीहरूले आतङ्ककारी अड्डालाईलक्ष्य बनाएका छन् । म अन्तर्राष्ट्रिय मिडियालाई भन्छु कि सबै स्थलहरू आफैं आएर हेरून् कि ती आतंककारी स्थल थिए कि सामान्य बस्ती । त्यहाँ हाम्रा दुईवटा मस्जिदहरू पनि थिए । एक बालक शहीद भएको छ। एक महिला शहीद भएकी छिन् । मसँग शहादतहरूको पछिल्लो तथ्यांक छैन । तर यी पुष्टि भएका सातवटा लक्ष्यहरू मध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन्। यी सबै लक्ष्यहरू सामान्य बस्तीमा थिए ।’
पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले भारतले आफूहरुको सिमा उल्लङ्घन गरेको बताए ।
तरारले जवाफी कारबाहीबारे पाकिस्तानी सेनाका प्रवक्ताको भनाइ दोहोराएका छन् ।
अताउल्लाह तरारले भनेका छन्, ‘यो आक्रमण अनुचित छ । यो पूर्ण रूपमा नसोचीकन गरिएको आक्रमण हो। हामी निश्चित रूपमा जवाफ दिनेछौं। हाम्रो प्रतिक्रिया स्थल र आकाश दुवैमा जारी छ ।’
यता, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे छलफल गरेको छ । जहाँ प्रतिनिधिहरूले तनाव न्यूनीकरण र संवादको आह्वान गरेका छन्। १५ सदस्यीय सुरक्षा परिषद्ले बैठकपछि कुनै औपचारिक वक्तव्य जारी गरेन तर पाकिस्तानले बैठकबाट उसका उद्देश्यहरू ‘धेरै हदसम्म पूरा भएका’ जनाएको छ ।








प्रतिक्रिया