
काठमाडौं । बेहुली, नाती-नातिनी, बुढाबुढी र दैलो ब्रान्डको चामल बेच्ने जय हरि एग्रो कम्पनीको व्यापारमा उछाल आएको छ । कम्पनीले सन् २०२४ मा हालसम्मकै उच्च व्यापार गरी नयाँ रेकर्ड कायम गरेको छ ।
कम्पनीअनुसार सन् २०२४ मा १ अर्ब २३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२३ मा ४३ करोड ८० लाख रुपैयाँको मात्रै कारोबार गरेको कम्पनीको व्यापार सन् २०२४ मा १८२ प्रतिशतले बढेको पाइन्छ ।
त्यसैगरी कम्पनीले सन् २०२२ मा ४५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । रुपन्देहीमा सन् २००८ मा स्थापना भएको कम्पनीले राइस मिल सञ्चालन गरी विभिन्न प्रकारका चामल बिक्री वितरण गर्दै आएको छ ।
प्रतिघण्टा १२ मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले लङ ग्रेन राइस र स्टिम राइस विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीको व्यापार बढेसँगै लिने कर्जा पनि बढाएको छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि कर्जा बढाएर रेटिङ गराएको छ । कम्पनीले यसअघि १ अर्ब रुपैयाँको रेटिङ गराएको थियो । उक्त कर्जा बढाएर कम्पनीले १ अर्ब १५ करोड कर्जाको लागि रेटिङ गरेको उल्लेख छ ।
अमनकुमार अग्रवाल र उनका परिवारको स्वामित्व रहेको कम्पनीले व्यापारमा उच्च भएसँगै क्षमता विस्तार गरेको छ । कम्पनीले लगानी थप गरी प्रति घण्टा ८ मेट्रिक टन स्टिम चामल उत्पादन गर्ने गरी उद्योग विस्तार गरिरहेको छ । उक्त क्षमता विस्तार गरेसँगै कम्पनीले प्रतिघण्टा १२ मेट्रिक टन चामल उत्पादन गर्नेछ । यसअघि कम्पनीसँग प्रतिघण्टा ४ मट्रिक टन नन-स्टिम चामल उत्पादन गर्ने क्षमता थियो।
त्यस्तै कम्पनीको व्यापार बढेसँगै खुद नाफा पनि बढेको छ । कम्पनीले सन् २०२४ मा २.५४ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२३ मा १.०२ प्रतिशत नाफा कमाएको थियो ।
कम्पनीले उत्पादन गरेको चामल नेपालको मुख्य शहर काठमाडौं, चितवन, झापा, मोरङ, दाङमा विक्री वितरण गर्दै आएको छ।








प्रतिक्रिया