
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले गभर्नर नियुक्त हुन नसेको देख्दा दुई तिहाइको सरकारको अहंकाररुपि बेलुन फुटिसकेको टिप्पणी गरे ।
‘एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ प्रचण्डले भनेका छन् ।
उनले हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हावी भएको आरोप लगाउँदै भने, ‘जनताले सेवा प्रवाह सहज रुपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेका छन् ।’
प्राविधिक रुपमा कांग्रेस एमाले नेतृत्वको सरकार भए पनि जनताको मस्तिष्कमा सरकार ढले जस्तो भएको उनको टिप्पणी छ ।
‘प्राविधिक रुपमा त अहिले सरकार ढलेको छैन । तर साँच्चै जनताको मन मस्तिष्कमा यतिबेला नैतिक रुपमा भन्ने हो भने सरकार छैन, ढलिसकेको छ,’ प्रचण्डले भने, ‘मेरो चिन्ता हिजो पनि थियो, आज पनि त्यही भन्छु सरकारको कार्यशैलीले तपाईंहरूमात्रै ढल्दै हुनुहुन्न, लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै काम कारबाहीका कारण बढी खतरा पैदा हुने त होइन?’
प्रचण्डले सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र विचौलियाको नियन्त्रणमा चलेको आरोप लगाए ।
‘मैले यसअघि पनि सरकारलाई खबरदारी गरेको थिएँ,’ प्रचण्डले भने, ‘सरकार जनताप्रति गैरजिम्मेवार देखिन्छ, तर स्वार्थ समूह र विचौलियाप्रति खुलेर समर्पित छ ।’







प्रतिक्रिया